हाल (मंगलबार साँझ) देशभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ।
लुम्बिनी प्रदेशका केही र कोसी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आज राति पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ।
कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
यसैबीच काठमाडौँ उपत्यकामा पनि राति हल्का वर्षाको सम्भावना छ। महाशाखाले उपत्यकामा पानी पर्ने सम्भावना ४० प्रतिशत देखाएको छ।
मौसमविद्का अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ।
यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्।
Shares
प्रतिक्रिया