ad ad

समाज


जुम्लाका आचार्य बने काठमाडौँको सीडीओ

जुम्लाका आचार्य बने काठमाडौँको सीडीओ

नेपालखबर
भदौ २६, २०८१ बुधबार २०:४७, काठमाडौँ

काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी जयनारायण आचार्यले सम्हालेका छन्।

उनी यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए। यसअघिका प्रजिअ जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा सरुवा गरी आचार्यलाई यो जिम्मेवारी दिइएको हो।

आचार्यले यसअघि दाङ, सप्तरी, कास्की र ललितपुरमा प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरिसकेका छन्।

आचार्य जुम्लाको सिँजामा जन्मिएका हुन्। उनको जन्मस्थान हाल कनकासुन्दरी गाउँपालिकामा पर्छ। 

२०५९ फागुनमा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेका उनले रामछापको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा जागिर सुरू गरेका थिए। त्यसपछि उनी अछाम पनि पुगे। २०६६ मा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भए।

आचार्य २०६८ मा खुला प्रतिस्पर्धाबाट उपसचिव र २०७१ मा सहसचिव बने। सहसचिव भएपछि केही समय राष्ट्रिय योजना आयोगमा रहेर काम गरे। त्यसपछि उनी पर्यटन विभागका महानिर्देशक भए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहसचिव र प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा सचिवको जिम्मेवारी पनि उनले पूरा गरे।

काठमाडौँ प्रजिअको जिम्मेवारी सम्हालेपछि उनले नेपालखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘भर्खर जिम्मेवारी सम्हालेको छु। धेरै भन्ने कुरा केही छैन। जहाँ गए पनि प्रभावकारी सेवा प्रवाह र पारदर्शितामा मेरो विशेष जोड रहन्छ।’

आचार्यले दक्षिण कोरियाको सउल नेसनल युनिभर्सिटीबाट गोल्ड मेडल पनि प्राप्त गरेका छन्।

सीडीओ सरूवा, को कहाँ?
सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्युठानमा रमा आचार्य सुवेदीले प्रजिअको जिम्मेवारी पाएका छन्।

यसअघि थापा अध्यागमन कार्यालय भैरहवाको प्रमुख अध्यागमन अधिकृत थिए। शर्मा र आचार्य गृह मन्त्रालयमै उपसचिवका रूपमा कार्यरत थिए।

प्युठानका प्रजिअ नारायणप्रसाद अर्याललाई मन्त्रालयमा सरूवा भएका छन्। अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बाबुराम अर्यालले पाएका छन्। उनी यसअघि इलाका प्रशासन कार्यालय, चन्द्रौटामा थिए। उनको ठाउँमा अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याई पठाइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .