ad ad

समाज


पहिरोले यी चार सडक बिहानैदेखि अवरुद्ध

पहिरोले यी चार सडक बिहानैदेखि अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपािलका–१२ घाँसीकुवामा आज बिहान खसेको पहिरो। तस्बिरः कृष्ण न्यौपाने/रासस


नेपालखबर
भदौ २१, २०८१ शुक्रबार ९:४८, काठमाडौँ

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन्। पहिरोले पृथ्वी राजमार्ग, कालीगण्डकी करिडोर सडक, मध्यपहाडी सडक, राप्ती राजमार्गसहितका सडक अवरुद्ध भएका हुन्।

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानखण्ड अवरुद्ध भएको छ। बिहीबार साँझदेखि परेको वर्षात्ले तुलसीपुर–कपुरकोट सडक अवरुद्ध भएको हो। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार  तुलसीपुर–३ राम्रीमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।  अहिले पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए। 

त्यसैगरी अविरल वर्षाका कारण पहिरो खस्दा म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीका तीन  गाउँपालिका र बागुलङका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ।

मङ्गला गाउँपालिका–२ र बेनी नगरपालिका–४ को सीमानामा पर्ने फापरखेतको घुमाउने भिरमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । त्यसैगरी फापर खेतको घुमाउने भिरमा पहिरो जाँदा पैदल हिँडेर सिमलचौर निस्कन प्रयोग गरिने मङ्गला–३ पखेरमा पनि पहिरो जाँदा स्थानीय लक्ष्मी खड्काका दुई वटा घर पुरिएका छन् भने वैकल्पिक बाटो पनि अवरुद्ध भएको पखेरबाट स्थानीयवासी नरबहादुर थापामगरले जानकारी दिए। 

पहिरोले अवरुद्ध दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिम जोड्ने राप्ती राजमार्ग

पहिरोले दुई घरमा क्षति पु¥याए पनि बिहीबार लक्ष्मी र उनका छोरा अरुको घरमा पाहुना गएकाले कुनै मानवीय क्षति हुन नपाएको उनले बताए। अहिले तातोपानी चौकीबाट पुगेको प्रहरीको टोली र स्थानीयवासीले पहिरो पन्छाएर घरका सामान सुरक्षित ठाउँमा सार्ने काम गरिरहेको छ। पानी पर्नेक्रम नरोकिएकाले अझै पनि पहिरो झरिरहेको उनले बताए।

सडक अवरुद्ध भएपछि यात्रुहरु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थी र पश्चिम म्याग्दीका विभिन्न ठाउँमा जाने यात्रुलाई समस्या हुने गरेको छ। 

‘बेनी–दरबाङ सडक पाखो र भिरकाबीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा गेगरैगेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन’, बेनी नगरपालिका–४ का वडाध्यक्ष भगवान् खड्काले भने। 

कालीगण्डकी करिडोर अवरुद्ध 

कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व खण्ड पनि अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डको तीन ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। 

जिल्ला प्रहरी कार्यालय नवलपरासीको बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो, बुलिङटार गाउँपालिका–१ मते डाँडा र गैँडाकोट नगरपालिका–३ हिउँदे खोलमा लेदो माटोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो। 

अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको उनले बताए। कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन्।

त्यसैगरी अविरल वर्षापछि गएको पहिरोले गोरखा–आँबुखैरेनी सडक पनि अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत गोरखा नगरपालिका–१३ मझुवास्थित सात किलो भन्ने ठाउँमा पहिरो खसेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
    
पहिरो पन्छाउनका लागि ‘जेसिवी’ परिचालन भइसकेको उनले बताए। सोही सडकखण्डअन्तर्गत गोरखा–८ स्थित सल्यान धारा नजिकै पनि पहिरोले सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपत् व्यवस्थापन शाखाका प्रमुख ध्रुव घिमिरेले जानकारी दिए। 

‘त्यसबाहेक ठाउँठाउँमा स–साना पहिरा गएका छन्’, उनले भने, ‘सल्यान धारा नजिकैको पहिरो एकतर्फी खुले पनि दुईतर्फी खुलाउने प्रयास भइरहेको छ।’ सडक अवरुद्ध हुँदा गोरखा सदरमुकामबाट सङ्घीय राजधानी काठमाडौँसहित पोखरा, चितवनलगायत स्थानबाट आउनेजाने सवारीसाधन रोकिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .