ad ad

समाज


तीज पर्व: पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

यसरी मिलाइएको छ पूजा आराधनाको व्यवस्था
तीज पर्व: पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार ९:२८, काठमाडौँ

हरितालिका तीज पर्वका अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशैभरीका शिवालयमा बिहानैदेखि भक्तजन महिलाहरुको घुइँचो लागेको छ। 

भगवान् शिवको पूजा आराधना गर्न अहिले हजारौँको संख्यामा महिलाहरु पशुपतिनाथ मन्दिरमा पुगेका छन्। काठमाडाैँ उपत्यकामा गएरातिदेखि नै वर्षा भइरहेकाे छ। बर्खेझरीमा छाता ओडेर महिलाहरु पशुपतिनाथ पुगेका हुन्। 

हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न आउने भक्तजनको व्यवस्थापन, सुरक्षा र मन्दिर दर्शन गर्ने सम्पूर्ण प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोसका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार बिहीबार साँझदेखि नै भक्तजन र श्रद्धालुका लागि पशुपतिनाथ मन्दिर दर्शनमा सहजीकरण गरिएकाे छ। 

मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था गरिएको छैन। कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार व्रतालु दर्शनार्थीको सेवासुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन, प्रसादको व्यवस्था, दर्शन मार्गको व्यवस्था एवं सुधार, पाउपोस (जुत्ता, चप्पल) राख्ने ठाउँको व्यवस्था मिलाइएको छ। 

त्यसैगरी आकस्मिक स्वास्थ्य सेवा, उपासनासहितको मनोरञ्जनात्मक भजनकीर्तन, दीपावली र व्रतालुले गौदान पनि सहज रूपमा गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ।

गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, बासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण जुत्ता– चप्पल कक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ।

त्यसैगरी मित्रपार्क, जयवागेश्वरी– गौशाला–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्यमठ दक्षिण जुत्ता–चप्पल कक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था
मिलाइएको उनले जानकारी दिए। 

मासु र मदिरा निषेध 
पशुपतिनाथ मन्दिर क्षेत्रभित्र र आसपासमा बिहीबारदेखि नै मासु, मदिरा तथा नसालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरिएको छ। 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बुधबार सूचना जारी गरी हिन्दु नारीको चाड हरितालिका तिज पर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न मन्दिर परिसरमा नसालु पदार्थ निषेध गरिएको उल्लेख गरेका छन्।

गौशाला, मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगङ्गा–चव्रmपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड, गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिरासहितका सामग्री निषेध गरिएको उनले बताए।

पाशुपत क्षेत्रभित्रको सुरक्षालगायत धार्मिक एवं सांस्कृतिक मर्यादा तथा पवित्रता कायम राख्ने उद्देश्यसमेतलाई दृष्टिगत गरी भदौ २२ गतेसम्म यो नियम लागु हुने र उल्लङ्घन गर्नेलाई कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .