ad ad

समाज


पहिलोपटक जहाज चढेर भोजपुर पुगे प्रकाश, आइतबार नागरिकता लिने

पहिलोपटक जहाज चढेर भोजपुर पुगे प्रकाश, आइतबार नागरिकता लिने

नेपालखबर
भदौ १५, २०८१ शनिबार १८:२६, काठमाडौँ

‘हेर्ने कथा’ नामक युट्युब च्यानलमा प्रशारण भएको ‘हराएका वर्षहरू’ कथा सार्वजनिक भएपछि चर्चामा आएका प्रकाश तामाङ (काले मोक्तान) भोजपुर पुगेका छन्। 

गत बिहीबार (भदौ १३) गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार (चुमभ्याली) बाट भोजपुरका लागि निस्किएका प्रकाश काठमाडौँ हुँदै शनिबार आफ्नो घर पुगेका हुन्। 

प्रकाशलाई भोजपुरका अगुवा युवाहरूसहितको समन्वयमा पत्रकार राजेश राईले शनिबार उनलाई षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) स्थित घर पुर्‍याएका हुन्। शनिबार बिहान काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको जहाजमा तुम्लिङटार एयरपोर्ट हुँदै प्रकाश घर पुगेका हुन्। 

पत्रकार राईका अनुसार, आइतबार प्रकाशलाई नागरिकता दिलाउने कार्यक्रम राखिएको छ। मेयर सुरेन्द्र कुमार उदास र वडाध्यक्ष पेमा दोर्ची शेर्पाको सहयोगमा उनलाई घरमै नागरिकता दिलाउने वातावरण तय भएको छ। 

नागरिकता लिएर उनी सकेसम्म भोलि नै काठमाडौँ फर्कनेछन्। काठमाडौँ फर्किएर प्रकाशले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ।

ओलीले निवर्तमान गृह सचिव एवं हालका मुख्य सचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकता दिलाउन आवश्यक पहल गर्न निर्देशन दिएका थिए। 

साथै, उनले प्रकाशलाई भेटेर कुरा गर्ने इच्छा पनि जाहेर गरेका छन्। 

भोजपुर घर भएका युवाहरूले अभियान नै चलाएर प्रकाशलाई नागरिकता दिलाउने र बैंक खाता खोल्नका लागि पहल गरिरहेका छन्। बैंक खाता खुलाउनका लागि प्रकाशको नागरिकता अनिवार्य भएपछि सुरुमा उनी भोजपुर पुगेका हुुन्। 

प्रकाशलाई तीन दशकबढी आश्रय दिएका साहु टसि दोर्जे लामाले खाता खुलेपछि १० लाख रकम जम्मा गरिदिने प्रतिबद्धता जनाएर न्यानो बिदाइसहित चुमभ्यालीबाट बिदा गरेका थिए। 

बिदाइका क्रममा उनले आफ्नै घर सम्झिएर फेरि फेरि आउन पनि प्रकाशलाई आग्रह गरेका थिए। जवाफमा प्रकाशले पनि आफू मन लागेको बेलामा आउने बताएका थिए। 

प्रकाशलाई बाटोमा भेट्ने अधिकांशले सहयोगको प्रतिबद्धता जनाएका छन्। शुक्रबार काठमाडौँ आउने क्रममा एक महिलाले राजमार्गमै फुलमालासहित सम्मान गरेर २० हजार रुपैयाँ सहयोग पनि गरेकी थिइन्।

त्यस्तै, चुमनुब्री गाउँपालिकाले पनि उनलाई १ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ। 

भोजपुर जाँदैगर्दा शनिबार दिउँसो फोन गरेर कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले पनि स्वरोजगारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। 

यस्तै, प्रकाशका लागि सोही क्षेत्रका सांसद सुदन किराँतीको नेतृत्वमा घर समेत निर्माण हुने भएको छ।

अन्य विभिन्न निकायले पनि उनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .