२०८० वैशाखको मध्यतिर युट्युव च्यानल ‘हेर्ने कथा’ टिम गोरखाको चुमनुब्री गाउँपालिकामा अवस्थित चुमभ्याली पुग्यो। उद्देश्य थियो– ‘हेर्ने कथा’का लागि फुन्जोको कथा तयार गर्नु।
फुन्जो जाङ्मु लामा, जसले २२ मे २०२४ मा १४ घण्टा ३१ मिनेटमा सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा पुगेर सर्वाधिक छोटो समयमा सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान बनाएकी छन्।
‘हेर्ने कथा’ टिम छेकम्पारमा फुन्जोको बाल्यकालका सम्झनाहरू पछ्याउने क्रममा गाउँ मास्तिरको चौँरी गोठमा पुगेको थियो। यो हिउँदे गोठ हो। त्यहीँ भेटिए प्रकाश। प्रकाश अर्थात् काले मोक्तान। तिनै प्रकाश, जसको बारेमा अहिले सिङ्गै देश बहस गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उनको कथा हेरेर चासो व्यक्त गरेका छन्।
‘हेर्ने कथा’ टिमका अनुसार प्रकाश फुन्जोका बाल्यकालका सम्झनाहरूसँग पनि जोडिन्छन्। प्रकाशको बारेमा बुझ्दै जाँदा यो टिमले थाहा पायो– प्रकाश गलैँचा बुन्न भनी काठमाडौँ आएका रहेछन्। तर गलैँचा कारखानाबाट यी बाल मजदुरहरू निकालिए। त्यसपछि प्रकाश सूर्य भनिने साथीसँग जोरपाटीतिर भौँतारिरहेका थिए। छेकम्पारकै एकजनाले प्रकाश र सूर्यलाई गोठालो काम गर्न भनी लिएर गए।
प्रकाशलाई ठ्याक्कै तिथिमिति थाहा छैन तर उनले भने अनुसार झन्डै ३० वर्षअघि उनी त्यसरी छेकम्पार पुगेका हुन्। उनीसँगै गएका साथी केही समयमै भागेर फर्किए। प्रकाश भाग्न सकेनन्। प्रकाशका मिल्ने साथी सूर्यले नै ‘काले’को नाम ‘प्रकाश’ राखिदिएका थिए। सूर्य अहिले कहाँ छन्, प्रकाशलाई थाहा छैन।
प्रकाशको विगतको बारेमा खोजीनिती गरेपछि वर्षौँ हराएका उनलाई परिवारसँग भेटाइदिन पाए कस्तो हुँदो हो? ‘हेर्ने कथा’ टिमले कल्पना गर्यो। प्रकाशले पनि घर खोज्ने इच्छा देखाएपछि सुरू भयो, ३० वर्षदेखि हराइरहेका प्रकाश तामाङलाई उनको परिवारसँग भेटाउने ‘हेर्ने कथा’को यात्रा।
‘हराएका वर्षहरू’ शीर्षकमा युट्युब च्यानल ‘हेर्ने कथा’मा अपलोड भएको एक घण्टा १० मिनेटको भिडिओमा प्रकाशको ४० वर्षे जिन्दगीको कथा समेटिएको छ।
‘झापाबाट गलैँचा बुन्न भनी काठमाडौँ आइपुगेको एउटा फुच्चे (अन्दाजी १० वर्ष) केटो। केही समय काठमाडौँमा बिताएपछि उमेर नपुगेका कारण गलैँचा बुन्ने कामबाट निकालिन्छ। उनलाई उत्तरी गोरखाका मान्छेले भेट्टाउँछन् र गोठालो काम गर्नका लागि २ हप्ताको बाटो हिँडाएर चुम भ्याली लिएर जान्छन्। त्यसपछि ऊ हिमालबाट कहिल्यै घर फर्कंदैन,’ प्रकाशको ४० वर्षको जिन्दगीको कथाको सार यही हो।
प्रकाश तामाङको भिडिओ कथा :
मुख्य कथा अब सुरु हुन्छ, जब चुम भ्यालीबाट ‘हेर्ने कथा’ टिमले प्रकाशलाई आफ्नो परिवारसँग भेटाउन लिएर हिँड्छ।
प्रकाशलाई आफ्नो गाउँको धमिलो याद मात्रै थियो। याद होस् पनि कसरी, उनी त सानैमा गाउँ छोडेर हिँडेका थिए। झन्डै तीन दशकअघि। घर कहाँ छ? बा आमा छन् कि छैनन् होला? दाजुभाइ/दिदीबहिनी कहाँ के गर्दै होलान्? मेरो गाउँ कस्तो भयो होला? प्रकाशको मनमा अनेकौँ प्रश्नहरू थिए। बाआमा यो संसारमा छैनन् कि भन्ने चिन्तासँगै उनको मनको एउटा कुनामा थोरै डर पनि थियो– मैले आफ्नो बाआमा र परिवार भेटिहालेँ भने पनि चिन्छु कि चिन्दिनँ होला?
प्रकाशको कथा हेर्दा उनलाई आफूले चुमभ्यालीमा बिताएका दशकौँको समयसँग केही गुनासो भएजस्तो सुनिन्छ। बितेको समयका बारेमा उनी केही पश्चाताप गर्छन्। एउटा हिमाली गाउँमा पूरै ३० वर्ष बिताएर आफूले जिन्दगी खेर फालेछु क्यारे भन्ने पनि लाग्छ उनलाई।
गोरखादेखि झापा हुँदै भोजपुरसम्मको यात्रामा कहिले उनको अनुहार नामजस्तै चम्किलो हुन्छ। कहिले अँध्यारो। बा आमा सम्झिन्छन्, मन गाँठो पारेर भक्कानिन्छन्। प्रकाशसँगै दर्शकहरू पनि घरी हिक्कहिक्क गर्दै त घरी आँसु पुछेर फेरि मुस्कुराउँदै एक घण्टा १० मिनेटको समय बिताउँछन्।
प्रकाशको कथाले धेरैलाई भावुक बनायो। रुवायो। कथा हेरिसकेपछि हजारौँले सामाजिक सञ्जालमार्फत् आफ्नो प्रतिक्रिया राखे। ‘हराएका वर्षहरू’ अहिले युट्युबमा एक नम्बर ट्रेन्डिङमा छ। ४ दिनमा ४० लाखभन्दा धेरै मानिसले हेरिसकेका छन्।
लाखौँ मान्छेलाई यसरी छुने प्रकाशको कथा तयार गर्न लागेको मेहनत पनि चानचुने छैन। ‘हेर्ने कथा’को यो अंक तयार पार्न गोरखाको चुमभ्यालीबाट झापा हुँदै भोजपुरसम्म पुग्दा करिब पाँच दिनमा ४० घण्टाभन्दा बढीको भिडिओ खिचिएको थियो।
‘हेर्ने कथा’का दृश्य सम्पादक सन्देश परियार सम्झन्छन्, ‘कम्प्युटरले नै नधान्नेगरी फुटेज जम्मा भएको थियो, दुईवटा भागमा बाँडेर सम्पादन गरेको हो।’
अर्थात् दर्शकले युट्युबमा हेरेको एक घण्टा १० मिनेटको प्रकाशको कथा (हराएका वर्षहरू) ४० घण्टाभन्दा लामो फुटेजहरूलाई सम्पादन गरी तयार पारिएको हो। जसका लागि हप्तौँ मेहनत गर्नुपरेको थियो।
के कुरा राख्ने, के नराख्ने, कुनलाई पहिला राख्ने, कुनलाई पछि। स्क्रिप्ट। शीर्षक। संगीत। हराएका वर्षहरूमा संगीत संयोजन पनि निकै उत्कृष्ट छ। पार्श्व धुनमा रुबिनकुमार श्रेष्ठ (कुटुम्ब) ले मेहनत गरेका छन्।
‘हेर्ने कथा’का यसअघिका अंकहरू पनि दर्शकले मन पराएका थिए। तर ‘हराएका वर्षहरू’पछि आएको प्रतिक्रिया अन्य अंकहरूको तुलनामा दोब्बरभन्दा बढी छ।
प्रकाशको कथा हेरिसकेपछि धेरै दर्शकले जिज्ञासा राखे, यो कथा कहिले खिचिएको हो? प्रकाश अहिले कहाँ होलान्? उनको जीवन पहिलाजस्तै छ कि बदलियो होला? दर्शकबाट यी जिज्ञासाहरू आएपछि ‘हेर्ने कथा’ले सामाजिक सञ्जाल मार्फत् प्रकाशको पछिल्लो समयका बारेमा अपडेट गरायो।
दर्शकले ‘हराएका वर्षहरू’मा प्रकाश चुम भ्यालीबाट झापा आफ्नो गाउँ आइपुगेको र त्यहाँबाट आमा बुवा खोज्दै भोजपुरसम्म पुगेको कथा हेर्न सक्छन्। झापाबाट बुवाआमा भोजपुर फर्केको थाहा पाएपछि उनी भोजपुर पुग्छन्। भोजपुरमा प्रकाशका परिवारले ‘अब चुम भ्याली फर्कनु पर्दैन, यहीँ बस्नू’ भनेका थिए।
तर ‘हेर्ने कथा’ टिमले साहुसँग प्रकाशलाई परिवार भेटाएर फेरि ल्याइदिने वाचा गरेकाले र प्रकाशले पनि परिवार भेटेर फेरि आउँछु भनेकाले उनी ‘केही समयपछि सधैँका लागि भोजपुर नै बस्नेगरी आउँछु है’ भन्दै बिदा मागेर चुमभ्याली फर्कन्छन्।
त्यसपछि उनले के गरे होलान् भन्ने अधिकांश दर्शकको जिज्ञासाको जवाफमा ‘हेर्ने कथा’ टिमले लेखेको छ, ‘साहुलाई दिएको वचनले प्रकाश पनि बाँधिएका थिए, हामी पनि बाँधिएका थियौँ। हामी काठमाडौँ फर्कियौँ। साहुका एकजना छोरा काठमाडौँमा बस्दा रहेछन्। हामीले उनलाई नै प्रकाशको जिम्मा लगायौँ। उनले प्रकाशलाई छेकम्पार फर्काउने व्यवस्था गरे।’
सोमबार ‘हेर्ने कथा’सँग प्रकाशले आफ्नो जिन्दगीबारे यस्तो जानकारी दिएका छन् :
‘म दसैँ मान्न पोहोर गाउँ गएँ। गाउँ जाने बेलामा साहुले खर्च दिएनन्। यत्रो वर्ष काम गरेको पैसाको हिसाब छैन। साहुका विदेशमा भएका छोराले १ लाख पठाइदिए अनि काठमाडौँमा भएका छोराले ६० हजार। १ लाख ६० हजार बोकेर म नफर्किने गरी भोजपुर गएँ। घरको अवस्था साह्रै नाजुक रहेछ। आफ्नो जग्गा जमिन खासै छैन। अँधियाका केही हल बारी छन्। बाउले गोरु किन्नु पर्छ भन्नु भयो। एक हल गोरु किनिदिएँ। कान्छो भाइलाई विदेश जान ४० हजार दिएँ। बाउलाई औषधि र बैसाखी किनिदिएँ। चाडबाड मनाउँदा अलिअलि खर्च भयो। बाउलाई अहिले सन्चो छ।
नागरिकता बनाउन खोजेको तर भएन। जन्मदर्ता चाहिन्छ। झापाबाट आएको बसाइँसराइ चाहिन्छ भने।
पाँच–छ महिना गाउँमै बसेँ। गाउँमा जति दुःख गरे पनि केही नहुने। आफ्नो भन्ने केही छैन। बरु ज्यालादारी नै काम गरे पनि चुम भ्यालीमै अलिअलि कमाइन्छ जस्तो लाग्यो अनि म छेकम्पार फर्किएँ। यहाँ काम पनि पाइएन। पहिलाकै साहुको घरमा काम गर्न थालेको छु। मैले त दिनको १ हजार दिनुपर्छ भनेको छु। तर उनीहरू पैसाको कुरै गर्न चाहँदैनन्।
खै अब के गर्ने हो। के हुने हो मलाई थाहा छैन। बाउले फोन गरेर ‘गोरूले दुःख दियो छिटो आइज’ भन्छ। दसैँमा फेरि भोजपुर जाने सोचेको छु।’
यो त दुई दिनअघि सोमबारसम्मको कुरा भयो। तर, पछिल्लो २ दिनमा प्रकाशको जिन्दगीमा धेरै उतारचढाव आइसकेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हराएका वर्षहरू’ हेरेपछि परिवारसँग उनको मिलनको दृश्यले आँसु आएको लेखेका छन्। बुधबार बिहान फेरि अर्को स्टाटस लेख्दै प्रधानमन्त्रीले प्रकाशसँग आफूले कुरा गरेको र अहिले उनको आवश्यकता नागरिकता भएकाले मंगलबार बेलुका गृह सचिवलाई बोलाएर प्रकाशको नागरिकता बनाउने विषयमा कुरा गरेको र केही दिनमै नागरिकता बन्ने गरी सहजीकरण गर्ने जवाफ गृहसचिवबाट पाएको उल्लेख गरेका छन्।
बुधबार नै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले प्रकाशलाई भोजपुर फर्किन र जीवनयापनका लागि आवश्यक सहयोग गर्ने बताएका छन्।
यस्तै, गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्षले पनि ‘हराएका वर्षहरू’ हेरेपछि आफूले प्रकाशको बारेमा थाहा पाएको भन्दै उनलाई स–सम्मान आफ्नो घर फर्किने व्यवस्था मिलाउने र पालिकाले आवश्यक सहयोग गर्ने बताएका छन्।
Shares
प्रतिक्रिया