ad ad

समाज


खोटाङमा चट्याङ लागेर ३ जना गम्भीर घाइते, प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै

खोटाङमा चट्याङ लागेर ३ जना गम्भीर घाइते, प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०८१ शनिबार ९:१८, काठमाडौँ

खोटाङमा चट्याङ लागेर तीन जना गम्भीर घाइते भएका छन्। 

गएराति घरमै चट्याङ पर्दा ऐंसेलुखर्क पातेलका मोहन भुजेलका २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन्। 

डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षालाई पनि आफ्नै घरमा चट्याङ लागेको हो। चट्याङ लागेका तीनै जनाको अवस्था गम्भीर छ। 

चट्याङले गम्भीर घाइते भइ बेहोस बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्क पु¥याइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ। 

तीनैजनाको अहिले प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय एैँसेलुखर्कका प्रमुख प्रहरी निरीक्षक हरि बरालले जानकारी दिए। 

‘चट्याङले बेहोस बनेका तीनैजना अहिले उपचाररत छन्। उनीहरुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको स्वास्थ्यकर्मीले बताएका छन्’, उनले भने, ‘उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार तीनैजनाको अवस्था खतरामुक्त छ। रातको समयमा परेको चट्याङले पुर्याएको थप क्षतिको विवरण भने आउन बाँकी छ।’

चट्याङले विद्युतीय सामग्रीमा पनि ठूलो क्षति गरेको ऐंसेलुखर्क गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ ऐंसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिए। 

‘चट्याङबाट घाइते बनेकाहरुको अवस्था सामान्य बन्दै गएको छ। हामी अहिले घाइतेहरुको अवस्था बुझ्न प्राथमिक स्वास्थ्य केन्द्र पुगेका छौँ’, उनले भने, ‘चट्याङले विद्युत्को मिटरबक्स, टेलिभिजन, विद्युतीय बल्ब, कुर्सी, टेबललगायतका सामग्री जलेको भन्ने जानकारी फोनमार्फत आइरहेको छ। अब प्रहरीसँगको सहकार्यमा क्षतिको विवरण सङ्कलन गर्छौं।’

चट्याङबाट स्थानीय बासिन्दालाई जोगाउन यसअघि गाउँपालिकाले विभिन्न ठाउँमा अर्थिङसमेत गरेको थियो। अघिल्लो जनप्रतिनिधिका पालामा गाउँपालिकाको लगानीमा विभिन्न ठाउँमा अर्थिङ गरिए पनि यस वर्ष चट्याङले ठूलोमात्रामा क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .