ad ad

समाज


गीत, संगीतका थोरै प्रस्तुतिले पनि जनतामा ठूलो जागरण पैदा हुन्छ: प्रचण्ड

गीत, संगीतका थोरै प्रस्तुतिले पनि जनतामा ठूलो जागरण पैदा हुन्छ: प्रचण्ड

नेपालखबर
भदौ ११, २०८१ मंगलबार ९:२३, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न सांस्कृतिक ऐतिहासिक भूमिका रहेको बताएका छन्। 

जनगायक जेवी टुहुरेको तेस्रो स्मृति दिवसका अवसरमा जेवी टुहुरे फाउण्डेसनले आयोजना गरेको स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले दर्शन, सिद्धान्त र राजनीतिका धेरै कुरा गरेर भन्दा गीत, संगीतका थोरै प्रस्तुतिबाट जनतामा धेरै भन्दा धेरै जागरण पैदा गर्न सकिने बताए।

उनले सांस्कृतिक यौद्धाहरू जीवनभर जनतामा जागरण पैदा गर्दैगर्दै मर्ने र मरिसकेपछि पनि युगयुगसम्म जागरण पैदा गरिरहने तर्क गरे। पारिजातको कविता उद्धृत गर्दै उनले सहिदहरू कहिल्यै नमर्ने बरु उनीहरू युगयुगसम्म नारा भएर घन्किरहने बताए।

जेवी टुहुरे फाउण्डेसनले एक लाख राशीसहितको जेवी टुहुरे सम्मान २०८१ मनरोपरान्त अर्का जनगायक खुशीराम पाख्रिनलाई समर्पण गरेको छ। इच्छुक प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै सांस्कृतिक यौद्धालाई एकैसाथ सम्झन पाउनु खुशी र गौरवको विषय भएको तर्क गरे।

‘महान सहिद कृष्णसेन इच्छुकको स्मृतिमा निर्मित भवनमा जेवी टुहुरेको स्मृति दिवसमा खुशीराम पाख्रिनलाई मरोनोपरान्त सम्मान गर्न पाउँदा निकै गौरवान्वित महसुस गरेको छु’, प्रचण्डले भने,  ‘मेराका लागि यो निकै खुशी र गर्वको क्षण हो।’

सेन, टुहुरे र पाख्रिन जस्ता सांस्कृतिक यौद्धाहरुले गरेको योगदान र बलिदानकै कारण श्रमिक वर्गमा चाँडै चेतना जागृत भएको र सामन्तवादको अन्त्य गर्न संभव भएको अध्यक्ष प्रचण्डको भनाई थियो। 

ठूलो बलिदानपछि आएको परिवर्तन संस्थागत गर्ने क्रममा पाख्रिन र टुहुरेलाई नीति निर्माण तहमा लैजान सकिएकोमा खुशी व्यक्त गर्दै उनले सांस्कृतिक यौद्धाहरुको समाज रुपान्तरणप्रतिको योगदानलाई उच्च सम्मान गर्नुपर्नेमा जोड दिए। 

जेवी टुहुरे फाउण्डेसनका निर्भिका टुहुरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीलगायतले बोलेका थिए। 

सो क्रममा जनवादी कलाकारहरुले सांस्कृतिक यौद्धाहरुको सम्मानमा प्रस्तुति दिएका थिए। कार्यक्रम सञ्चालन जनसांस्कृतिक महासंघका अध्यक्ष भीम कुमाखीले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .