ad ad

समाज


नेपाल प्रहरीमा ३० वर्षे हटेपछि सशस्त्रका पनि डीआईजीसहित १२ जना सर्वोच्चमा

नेपाल प्रहरीमा ३० वर्षे हटेपछि सशस्त्रका पनि डीआईजीसहित १२ जना सर्वोच्चमा

नेपालखबर
भदौ ९, २०८१ आइतबार १७:१५, काठमाडौँ

सशस्त्र प्रहरी नायब माहानिरीक्षक (डीआईजी)सहितका अधिकारीहरू ३० वर्षे हटाउन माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।

यही भदौ १६ गतेदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास हुन लागेका डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

उनीहरूको रिटको पेसी मंगलबारलाई तोकिएको छ। 

रिट दायर गर्नेमा डीआईजी दुर्गा प्रसाद भट्टराई, एसएसपी विश्वकुमार भट्टराई, एसपीहरू पूर्णबहादुर साउद, त्रिभुवन बिष्ट, अम्मरबहादुर ऐर, धनबहादुर सिंह, उद्धवबहादुर रावल, अशोक कुमार शाक्य, प्रेमबहादुर रावल, गोपाल प्रसाद श्रेष्ठ र दीपेन्द्र गिरीले रिट दायर गरेका हुन्।

उनीहरूले वारेस अनिता अधिकारीमार्फत रिट दायर गरेको सर्वोच्च अदालतले जानकारी दिएको छ। 

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सशस्त्र प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाइएको छ। 

सशस्त्र प्हरीमा विद्यमान ३० वर्षे सेवा अवधि हटाइआफूहरूलाई जागिरमा निरन्तरता दिन उनीहरूले माग गरेका छन्। यी १२ अधिकारीसहित १६ जना यही व्यवस्थाका कारण आगामी भदौ १६ गते अवकास हुने भएकाले उनीहरू त्यसलाई रोक्न सर्वोच्च पुगेका हुन्। 

यसअघि सर्वोच्च अदालतले नेपाल प्रहरीमा तत्काल ३० वर्षे लागु नगर्न र अवकास हुन लागेका प्हरीहरूलाई जागिरमा निरन्तरता दिन अन्तरिम आदेश दिएको छ। अन्तरिम आदेशसँगै भदौ १६ गते अवकास हुनु पर्ने नेपाल प्रहरीका ८९ अधिकारीहरूको जागिर लम्बिएको छ। 

नेपाल प्रहरीमा ३० वर्षे तत्काल कायृनवयन नहुने भएपछि उनीहरूपनि सोही आधारलाई टेक्दै सर्वोच्चच पुगेका हुन्। 

सशस्त्र प्रहरीबाट अवकास हुन लागेका १६ जना पनि नेपाल प्रहरीका ८९ जनाकै ब्याची हुन्। उनीहरू २०५१ सालमा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षकमा भर्ना भएका थिए। 

तर, सशस्त्र प्रहरीको स्थापना भएपछि उनीहरू एक तह बढुवाको सुविधा लिँदै त्यता सरेका थिए। सशस्त्र प्रहरीमा स्थानान्तरण भए पनि उनीहरूको सेवा अवधि भने नेपाल प्रहरीमा हुँदाको पनि गणना भएपछि अवकासको मिति आइपुगेको हो। 

तर आफूहरू सशस्त्र प्रहरीमा जाँदा ३० वर्षे प्रावधान नरहेको, पछि ल्याइए पनि पुनः हटाउन विभिन्न आयोगहरूले सुझाव दिइसकेको र सर्वोच्च अदालतले पनि नेपाल प्रहरीमा ३० वर्षेविरुद्ध परेको रिटको सुनुवाइ गर्दै १० वर्ष पहिले नै हटाउन आदेश दिइसकेकाले सशस्त्रमा पनि हट्नु पर्ने उनीहरूको माग छ। 

आफूहरू नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा जानुको मुख्य आकर्षण त्यहाँ ३० वर्षे नरहेकाले पनि भएको एक अधिकारीले बताए। तर पछि ल्याइए पनि त्यो व्यवहारिक नभएको र हटाउने तयारी समेत भइरहेकाले आफूहरूको जागिरमा निरन्तरता हुनु पर्ने उनीहरूको माग छ। 

यी हुन् अवकासमा जान लागेका १६ अधिकारी 
भदौ १६ गते अवकास हुने सूचीमा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी)देखि डीएसपीसम्म गरी १६ जना छन्। 

सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका प्रमुख अभिकुमार खत्री र सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका प्रमुख दुर्गाप्रसाद भट्टराई हुन्।

नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा जाँदा एक तह बढुवाको अवसर दिइएको थियो। तर त्यसअघि नै दुई जनाले भने प्रहरी निरीक्षकमा नाम निकालेका थिए। 

उनीहरू डीएसपीमा बढुवा हुँदै सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए। सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीका प्रमुख एसएसपी विश्वकुमार भट्टराई पनि अवकाशको सूचीमा छन्। उनी सईबाटै सशस्त्र प्रहरीमा प्रवेश गरेका भए पनि पछि सशस्त्र प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए। 

अरु ११ जना एसपी छन्। 
एसपीहरू दिपेन्द्र गिरी, अम्मरबहादुर ऐर, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, त्रिभुवन बिष्ट, उद्धवबहादुर रावल, पूर्णबहादुर साउद, धनबहादुर सिंह, भीमबहादुर चौधरी र महेन्द्रराज भारती रहेका छन्। 

दुई जना डीएसपी पनि सँगै अवकाश हुनेछन्। डीएसपी राजेश्वरप्रसाद साह र हरिबहादुर शाही अवकाश हुन लागेका हुन्। 

अवकाशमा जान लागेका दुई एसपी र एक डीएसपीलाई भने विशेष बढुवा दिएर बिदा गर्न लागिएको छ। सशस्त्र प्रहरीमा अवकाश हुने बेलामा कार्यरत पदमा ५ वर्ष काम गरेको र ३० वर्षे सेवा अवधिका कारण अवकाश भइजानेलाई एक तह बढुवा गर्ने व्यवस्था छ। 

सोही व्यवस्थाका कारण अवकाश हुन लागेका एसपी भीमबहादुर चौधरी र महेन्द्रराज भारती तथा डीएसपी हरिबहादुर शाहीलाई विशेष बढुवा गरिएको छ। 

यसअघि चौधरी र भारती डीएसपी थिए। उनीहरूलाई केही दिनअघि मात्रै एसपीमा विशेष बढुवा गरिएको हो। यस्तै हरिबहादुर शाही पनि सशस्त्र प्रहरी निरीक्षक नै थिए। उनलाई पनि विशेष बढुवा गरेर डीएसपी बनाइएको हो। 

नेपाल प्रहरीमा जस्तै ३० वर्षे हटाउने अन्तरिम आदेश आएमा उनीहरूले जागिरमा निरन्तरता पाउने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .