समाज


‘वुमन्स अफ द वर्ल्ड फेस्टिभल’ आयोजना हुँदै, १० हजार महिला सहभागी गराउने लक्ष्य

‘वुमन्स अफ द वर्ल्ड फेस्टिभल’ आयोजना हुँदै, १० हजार महिला सहभागी गराउने लक्ष्य

नेपालखबर
भदौ १, २०८१ शनिबार १६:३७, काठमाडौँ

‘वुमन्स अफ द वल्र्ड फेस्टिभल’को सातौँ संस्करण काठमाडौँमा आयोजना हुने भएको छ। काठमाडौँ महानगरपालिका र व्रिटिस काउन्सिलले संयुक्त रुपमा फेस्टिभलको आयोजना गर्नेछन्।

बिहीबार काउन्सिलमा आयोजना गरिएको एक कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले फेस्टिभलको संकेत चिन्ह सार्वजनिक गरिन्। 

सन् २०११ मा लण्डनको साउथ वैङ्कमा पहिलो सम्मेलन गरिएको थियो। लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु फेस्टिभलको मुख्य लक्ष्य रहेको बताइएको छ।

फेस्टिभल आउँदो मंसिर ८ र ९ गते (नोभेम्बर २३ र २४ तारिख) आयोजना हुनेछ। २ दिने फेस्टिभलमा ३ वटाभन्दा धेरै प्रकृतिका प्रदर्शनी हुनेछन्। २५ वटाभन्दा धेरै स्टल हुनेछन्। ४० भन्दा धेरै संवाद र मन्तव्य हुनेछन्।

१० वटाभन्दा धेरै चलचित्र प्रदर्शन गरिनेछ। ५ वटाभन्दा धेरै कार्यशाला गरिनेछ। १० वटाभन्दा धेरै सांगीतिक प्रस्तुति हुनेछन्। कम्तीमा ५ सय विद्यार्थी सहभागी गराउने लक्ष्य राखिएको कार्यक्रममा १ सयजनाभन्दा धेरै कलाकारसहित १० हजारभन्दा धेरै व्यक्तिको सहभागिता हुने अपेक्षा गरिएको छ।  

त्यस क्रममा बोल्दै उपप्रमुख डंगोलले, नेपाली महिलाहरूको सहनशीलतासँग सम्बन्धित नभनिएका, नसोधिएका र नसमेटिएका कथाहरू प्रदर्शनलाई जोड दिइने बताइन्।

गत जेठ महिनामा वेलायतमा आयोजना भएको सम्मेलनमा भाग लिएको अनुभव सुनाउँदै उनले भनिन्, ‘महिलाको अर्थपूर्ण सहभागिताका लागि नेतृत्वमा रहेका महिलाहरुबाट प्रेरणा प्राप्त भएको छ। यसका आयाम धेरै छन्। तीमध्ये राजनीतिक सक्रियताले पनि सशक्तिकरण प्रदान गर्छ।’

कार्यक्रममा बोल्दै नेपालका लागि वेलायतका राजदूत रोब फेनले फेस्टिभलबाट महिलाहरुलाई नेतृत्वदायी स्थानसम्मको यात्रा तय गर्ने हौसला प्राप्त हुने अपेक्षा गरिन्। 

यस्तै कन्ट्री डाइरेक्टर साहिदाले, महानगरपालिकासँगको सहकार्यमा आयोजना गरिने संस्करणले नयाँ आयाम सिर्जना गर्ने धारणा राखिन्।

गत जेठ महिनामा उपप्रमुख डंगोलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले, वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’मा सहभागिता जनाएको थियो।

‘अन्तर्राष्ट्रिय कार्यक्रममा महिलाको नेतृत्वमा महिलाहरू मात्र सहभागी भएको प्रतिनिधि मण्डल काठमाडौँ महानगरपालिकाको इतिहासमा पहिलो हो,’ उनले भनिन्।

सम्मेलनमा महिलाहरुका पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध भोगाइका विषयमा अनुभव आदानप्रदान हुने गरेको छ।

सम्मेलनमा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखकसहित विभिन्न क्षेत्रका वक्ताहरुलाई बोलाइने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad