ad ad

समाज


रविले सीआईबी प्रमुख बनाएका ज्ञवाली गृहमन्त्रीको निसानामा, उपत्यका प्रमुख पनि फेरिने

बेचन झाको अनुसन्धान नसकी काठमाडौँ प्रमुख नफेरिने
रविले सीआईबी प्रमुख बनाएका ज्ञवाली गृहमन्त्रीको निसानामा, उपत्यका प्रमुख पनि फेरिने

एआईजीद्वय श्याम ज्ञवाली र दीपक थापा


उजिर कार्की
साउन २, २०८१ बुधबार २२:३०, काठमाडौँ

सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई चार महिनामै हटाउने तयारी गरेको छ। निवर्तमान गृहमन्त्री रवि लामिछानेको रोजाइमा सीआईबी प्रमुखको जिम्मा पाएका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई त्यहाँबाट सरुवा गर्ने तयारी भएको हो। 

नक्कली भुटानी शरणार्थीको मुद्दा अगाडि बढाउन र अनुसन्धान गर्न आफैँ खटिएका ज्ञवालीलाई सत्ता घटक नेपाली कांग्रेस र नेकपा एमालेले नै रुचाएका छैनन्। उपत्यका प्रहरी कार्यालय प्रमुख भएर काम गर्दा पनि उनलाई साढे चार महिनामै हटाइएको थियो। 

उपत्यका प्रहरी कार्यालयबाट सरुवा गरेर ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा लगिएको थियो। नेपाली कांग्रेस सत्तामा हुन्जेल कार्य विभागमै रहेका ज्ञवालीलाई रवि लामिछाने गृहमन्त्री भएपछि सीआईबी प्रमुखको जिम्मेवारी दिइएको थियो। 

सीआईबीले लामिछाने मुछिएका सहकारी ठगीका फाइल झिकाएर अनुसन्धान गरिरहेको थियो। आफूमाथि अनुसन्धान गर्ने एआईजी किरण बज्राचार्यलाई त्यहाँबाट हटाएर ज्ञवालीलाई गत चैतमा सीआईबी प्रमुखको जिम्मा दिइएको थियो।

तर उनले गृहमन्त्री लामिछानेमाथि अनुसन्धान रोकेको भन्दै कांग्रेसले यसअघि चर्को आलोचना गर्दै आएको थियो। हालका गृहमन्त्री रमेश लेखकले नै त्यसको नेतृत्व गरेका थिए। 

यही कारण यसपटक पनि उनी चार महिनामै सरुवा हुने सम्भावना बढेको प्रहरी स्रोतको दाबी छ। ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयकै कुनै विभागमा लैजाने सम्भावना छ। 

ज्ञवाली अवकाश नजिक पनि छन्। उमेर हदका कारण उनी आगामी भदौ २६ गते अवकाश हुनेछन्। 

सरकारले हाल राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी सुदीप गिरीलाई सीआईबी प्रमुखको जिम्मा दिने बढी सम्भावना छ। उनी कांग्रेसनिकट मानिन्छन्। 

यस्तै गएको वैशाख २७ गते मात्रै एआईजीमा बढुवा भएका भीम ढकाल पनि सीआईबी जान लबिइङमा छन्। उनी एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको पहलमा एआईजीमा बढुवा भएका थिए। 

एमालेनिकट ढकालले पनि सीआईबी जान चाहेको प्रहरी उच्च स्रोतको दाबी छ। हाल उनी मानव स्रोत विकास विभागमा कार्यरत छन्। ढकाल अवकाशनजिक छन्। उनी आगामी मंसिर २८ गते उमेरहदका कारण अनिवार्य अवकाश हुनेछन्। तर अवकाशको व्यवस्थाबारे पुनर्विचार गर्न गृह मन्त्रालयले समिति बनाएर काम गरिरहेको छ। त्यसअघि नै प्रहरी ऐन संशोधन नभएमा ढकाल सोही मितिमा अवकाश हुनेछन्। 

यस्तै काठमाडौँ उपत्यका प्रमुखको पनि सरुवा गर्न गृहमन्त्री रमेश लेखकले छलफल थालेका छन्। उपत्यका प्रहरी प्रमुख रहेका एआईजी दीपक थापा ११ महिनादेखि यहाँ कार्यरत छन्। 

अन्य एआईजीलाई दुईपटक सरुवा गर्दा पनि यसअघिको सरकारले थापालाई भने उपत्यका प्रहरी कार्यालय रानीपोखरीमै निरन्तरता दिइरहेको थियो। तर उनको सरुवा अवधि भएकाले सीआईबी प्रमुखसँगै सरुवा गर्न लागिएको स्रोतको दाबी छ। 

‘एकजनालाई मात्रै सरुवा गर्दा राम्रो म्यासेज जाँदैन। त्यही भएर कम्तीमा ५ एआईजीलाई सरुवा गर्ने कुरा अगाडि बढेको छ। एउटा रिक्त एआईजीमा पनि बढुवा गर्न बाँकी छ। केही समय लिएर बढुवा पनि गर्ने र जिम्मेवारी पनि हेरफेर गर्ने हुनसक्छ,’ स्रोतले भन्यो, ‘यही हिसाबले कुरा अगाडि बढेको छ। गृहमन्त्रीज्यू भर्खरै आउनु भएको छ। धेरै हतार पनि गर्नु भएन।’

काठमाडौं उपत्यका कार्यालय प्रमुखमा कसलाई पठाउने भन्ने अन्यौल छ। वसन्त कुँवर प्रहरी महानिरीक्षक भएपछि सुरुमा ज्ञवाली र त्यसपछि थापाले जिम्मेवारी पाएका थिए। तर आईजीपी कुँवरकै ब्याची एआईजीहरुले पनि उपत्यका प्रहरी कार्यालय आउन चाहेका छन्। 

एआईजीद्वय सुदीप गिरी र भीम ढकाल

काठमाडौँ प्रहरी प्रमुखलाई केही समय दिइने
गृहमन्त्रीले काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेलाई भने तत्कालै सरुवा नगर्ने भएका छन्। नक्कली भुटानी शरणार्थीको मुद्दामा बेचन झालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका एसएसपीलाई सरुवा गर्दा आलोचना हुने भएकाले यो मुद्दाको अनुसन्धान नटुंगिइ उनलाई सरुवा नगर्ने गृहमन्त्रीको तयारी रहेको स्रोतको दाबी छ। 

बेचन झामार्फत कांग्रेसकै उच्च नेतासम्म यो मुद्दा जोडिने यसअघिका प्रतिवादीहरुले बयान दिएका थिए। उनीहरुकै बयानका आधारमा पक्राउ परेका झालाई ६० दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न सक्छ। झा असार १५ गते पक्राउ परेका हुन्। 

उनीमाथि अनुसन्धान गरिरहेका रजौरेलाई रवि लामिछानेले नै काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी दिएका थिए। उनीसँगै सरुवा भएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईको पनि अहिले नै सरुवा नहुने भएको छ। भट्टराई प्रधानमन्त्री ओलीकै चाहनामा उक्त कार्यालयमा पुगेका हुन्।

एसएसपी वसन्त रजाैरे

तर रजौरेलाई सरुवा गर्न केही समय कुर्ने र उनीमार्फत नै शरणार्थी प्रकरणको अनुसन्धान टुंग्याउने तयारी गृहको छ। यसअघि लामिछानेले वैशाखको दोस्रो साता ६ एसएसपीको जिम्मेवारी हेरफेर गर्दै रजौरेलाई काठमाडौं प्रमुखको जिम्मा दिएका थिए। 

लामिछानेले त्यतिबेला भूपेन्द्र खत्रीलाई काठमाडौँबाट र अपराध अनुसन्धान कार्यालयबाट सोमेन्द्र सिंह राठौरलाई पनि सरुवा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .