ad ad

समाज


पहिरोसँगै नारायणीमा बेपत्ता २ वटा बसमा कति थिए यात्रु?

एउटा बस काठमाडौँबाट गौरतर्फ जाँदै, अर्को बस वीरगन्जबाट काठमाडौँ आउँदै थियो
पहिरोसँगै नारायणीमा बेपत्ता २ वटा बसमा कति थिए यात्रु?

घटनास्थल


नेपालखबर
असार २८, २०८१ शुक्रबार ७:२३, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिका- २९ सिमलतालमा आज बिहान पहिरोले दुईवटा यात्रु बस बगाउँदा ६० जना भन्दा धेरै नारायणी नदीमा बेपत्ता भएको आशंका गरिएको छ।  

आज बिहान ३ बजे भएको यो घटनामा धेरै जनाको हताहती भएको अनुमान प्रहरीले गरेको हो।  

पहिरोले बगाएका दुईवटै बस नारायणी नदीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए। 

‘दुबै बसमा गरेर झण्डै ६५ जना यात्रु सवार रहेको अनुमान हामीले गरेका छौँ,’ डीएसपी रिजालले नेपालखबरसँग भने, ‘एउटा बसमा ४१ जना र अर्को बसमा २४ जना रहेका प्रारम्भिक जानकारी आएको छ।’ 

वीरन्जबाट काठमाडौँ आउँदै गरको बागमती प्रदेशको १५१६ नम्बरको एउटा बसको मात्रै नम्बर खुलेको उनले बताए। ‘काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बस गणपति डिलक्स भनिएकाे छ। तर, नम्बर खुलेको छैन,’ डीएसपी रिजालले भने। 

दुवै बसमा गरेर कति यात्रु बेपत्ता भए यकिन संख्या नखुलेको उनले बताए। 

‘यात्रुको यकिन संख्या खुलेको छैन। काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा सुरुमा ३० जना सवार थिए भनिएको थियो। तर, पछि बढेर ४१ जना भन्ने आएको छ,’ उनले भने, ‘वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बसमा वीरगन्जबाट २४ जना चढेको कुरा आएको छ। बीचमा कति चढे, कति झरे होलान्। बसमा कति यात्रु थिए यकिन संख्या भन्न सक्ने अवस्था छैन।’

तीन जना यात्रु भने नदीबाट पौडिएर निस्किएका डीएसपी रिजालले बताए। तर, उनीहरुको विस्तृत विवरण प्रहरीले खुलाएको छैन।

घटनास्थलमा अहिले चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाल प्रहरीका एसपी भावेष रिमालसहितका अधिकारी पुगेका छन्। 

सशस्त्र प्रहरीको गोताखोर टोली पनि बेपत्ता यात्रु र बसको खोजीमा परिचलित भएको छ। रातभरको वर्षाले नदीमा ठूलो बाढी आएकाले बेपत्ताको खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .