ad ad

समाज


६१ किलो सुन प्रकरण : १६ जना पुर्पक्षका लागि थुनामा, ३ जनासँग धरौटी माग

६१ किलो सुन प्रकरण : १६ जना पुर्पक्षका लागि थुनामा, ३ जनासँग धरौटी माग

नेपालखबर
असार २६, २०८१ बुधबार १८:४९, काठमाडौँ

झण्डै ६१ किलो सुन प्रकरणको दोस्रो चरणको अभियोगमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। 

जिल्ला अदालत काठमाडौंले एकसाता लामो सुनुवाइपछि राजु थापा भन्ने प्रेमनाथ सेढाईसँग ५७ लाख रुपैयाँ, थर्कमान लामा भन्ने कान्छा लामासँग ९६ लाख रुपैयाँ र रुपन भण्डारीसँग ९६ लाख रुपैयाँ धरौटी माग गरेको हो।

न्यायाधीश कपिलमणी गौतमको इजलासले पक्राउ परेका बाँकी १६ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। 

सुन प्रकरणको दोस्रो चरणको मुद्दामा ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो। जसमध्ये केही पहिलो चरणमै पक्राउ परेर पुर्पक्षका लागि कारागारमा रहेकाहरु पनि छन्।

उनीहरु विरुद्ध २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बिगो दाबी गरिएको छ। भन्सार ऐन, क्रिप्टो करेन्सी र नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको हो। 

पक्राउ परेका प्रतिवादीहरुमा पेवेलका सञ्चालक समिति अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल आचार्य, लेखा प्रमुख सुरज शम्शेर जबरा, सजिलो पे पेमेन्टका सञ्चालक फुनसुक डाग्पा अथुपछाङ खम्पा र सुशील जाकिबंजा, प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धर छन्। 

यस्तै उनीहरुका एजेन्ट लालबहादुर कुँवर र अरुणकुमार यादवलाई पनि सीआईबीले पक्राउ गरेको थियो। 

२०८० साउन २ गते अवैध सुन ६० किलो ७१६ ग्राम राजस्व अनुसन्धान विभागले बरामद गरेपछि नेपालमा सबैभन्दा धेरै सुन तस्करीको अनुसन्धान सुरु भएको थियो। ब्रेक सुमा लुकाएर ल्याएको सुनको परिणाम ३६२ किलो ७७८ ग्राम भएको निष्कर्षसहित पहिलो चरणको अनुसन्धानबाट ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो माग गर्दै २०८० भदौ ३१ गते मुद्दा दायर गरिएको थियो। 

तर दोस्रो चरणको अनुसन्धानमा भने ब्रेक सुमा भन्दा बढी सुन अन्य उपकरणमा ल्याइएको निष्कर्ष सीआईबीले निकालेको छ। अन्य इलेक्ट्रोनिक सामानमा २८३१।८९ किलो सुन तस्करी भएको निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। 

यस्तै पहिलो चरणमा खुलाउन नसकेका कतिपय व्यक्तिको पहिचान दोस्रो चरणको अनुसन्धानमा खुलाएको सीआईबीले उनीहरुलाई पनि प्रतिवादी बनाएको दाबी छ। सीआईबीले ४६ जनालाई प्रतिवादी बनाउन राय दिएकोमा २६ जना भने अझै फरार छन्। 

यसअघि पहिचान खुलाउन नसकेका सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेश भोइटे र प्रशान्त गणेश बजबलकरलाई पक्राउ गरेको छ। उनीहरु तीनै जना भारतीय नागरिक हुन्। अन्य ५ जना प्रतिवादीविरुद्ध डिफ्युजन नोटिस जारी गराएको पनि सीआईबीले जनाएको छ।  

पहिलो चरणको अनुसन्धानमा दुईवटा समूह रहेको निष्कर्षसहित टोखामा गोदाम चलाउने समूहको अनुसन्धान टुंग्याएको तर लाजिम्पाटको समूहको अनुसन्धान बाँकी रहेको भनिएको थियो। अहिले लाजिम्पाट समूहको पनि अनुसन्धान टुंग्याएको सीआईबीको दाबी छ। 

पर्साका ५३ वर्षीय सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायकका ३९ वर्षीय राजु खत्री, काठमाडौंको विशाल बजारमा शक्ति क्रिएसन सञ्चालन गर्ने ६१ वर्षीय भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयल, धादिङका ५२ वर्षीय प्रेमनाथ सेढाई, काभ्रेका ४४ वर्षीय थर्कमान भन्ने कान्छा लामा पक्राउ परेका छन्। 

यस्तै चीनको सिचुवान प्रदेश घर भई काठमाडौंको बौद्धमा कुङ्गा रेस्टुराँ सञ्चालन गर्ने ४१ वर्षीय राजु भोटे भन्ने जेङगा झाछी, यस्तै तिब्बती नागरिक भारतमा शरणार्थी भई बसेका ३६ वर्षीय सोनाम गुरुङ भन्ने सेराब ग्याल्मो, चितवनको भरतपुरमा मुक्तिनाथ सुनचाँदी पसल सञ्चालन गर्ने ४३ वर्षीय मनोजराज गुरुङ र काभ्रेका २२ वर्षीय रुपक भण्डारीलाई प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .