ad ad

समाज


हेलिकोप्टरबाट खस्यो सामान, स्थानीय त्रसित

हेलिकोप्टरबाट खस्यो सामान, स्थानीय त्रसित

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ३:२९,

उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि सोलुखुम्बुको सोलुदूधकुण्डका नागरिक त्रसित बनेका छन्।

सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब छ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयवासीमा त्रास र आक्रोश पैदा भएको हो।

टाक्सिन्दुका कुमार विश्कर्माले हेलिकोप्टरबाट पटक पटक सामग्री खस्ने गरेको भए पनि सम्बन्धित निकायले सुरक्षामा ध्यान नदिएको गुनासो गरे।

सोही गाउँका टेण्डी शेर्पाले सुरक्षित ढुवानीका लागि सम्बन्धित पक्षलाई बारम्बार आग्रह गरेको स्मरण गर्दै आफूहरुको सुझाव कार्यान्वयन नभएकोमा गुनासो गरे।

‘सुरक्षित ढुवानी गर्नेतर्फ कम्पनीले ध्यान नदिँदा मानवीय क्षति भएमा जिम्मेवारी नियमनकारी निकायले लिनुपर्छ,’ उनले भने।

सोलुदूधकुण्ड नगरपालिका-१ टाक्सिन्दुडाँडाबाट खुम्बु क्षेत्रका लागि निर्माणलगायत दैनिक उपभोग्य वस्तु ढुवानी भइरहेको छ। निर्माण सामग्रीसहित काठसमेत झुण्ड्याएर ढुवानी हुँदा सुरक्षा जोखिम बढ्ने स्थानीयवासीको गुनासो रहेको छ।

नेपाल नागरिक उड्डयन ऐन २०७३ मा विमानस्थलका अधिकारप्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खनतलासी नगराई कुनै पनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउनु वा वायुयानबाट ओसारप्रसार गर्नु÷गराउनु हुँदैन भन्ने उल्लेख छ।

सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उडान तथा अवतरणको विषय आफूहरुको क्षेत्राधिकारभित्र नभएको बताए।

खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले गाउँपालिकामा सडकको पहुँच नपुगेकाले हेलिकोप्टरबाट सामान ढुवानीको विकल्प नभएको बताए। ‘ढुवानीको गर्दा सम्बन्धित कम्पनीले ध्यान दिनुपर्छ,’ उनले भने।

जस्तापाता खसेको विषयमा छानबिन गर्न चालक गुन्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए।

सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बूले सुरक्षा समितिको बैठकले पनि आवश्यक छलफलपछि निर्णय गर्ने बताए।

यस विषयमा कैलाश एयरका व्यवस्थापक प्रतापजङ्ग पाण्डेसँग कुराकानी गर्न खोज्दा फोन सम्पर्क हुन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .