ad ad

कारोबार


एउटा चुच्चे ढुङ्गाबाट मासिक २४ हजार आम्दानी

एउटा चुच्चे ढुङ्गाबाट मासिक २४ हजार आम्दानी

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ३:१५,

पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट स्थानीयले मासिक करिब २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन्।

काभ्रेको धुलिखेल नगरपालिका–९ देवीस्थानडाँडा घुम्न आउने पर्यटकबाट उठाउने शुल्कले राम्रो आम्दानी भएको हो। ‘चुच्चेढुङ्गा’ मा चढ्न १० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

धुलिखेलको सबैभन्दा अग्लो स्थानमा रहेको यो डाँडो व्यक्तिको निजी जग्गा रहेका कारण व्यावसायिकरूपमा टिकटको व्यवस्था गरिएको हो।

त्यहाँबाट हिमालका दृश्यावलोकन गर्नुका साथै वरिपरिका विभिन्न मनोरमस्थल हेर्न पाइने भएकाले मनोरञ्जनका साथै आनन्द लिनका लागि आन्तरिक तथा बाह्य पर्यटकले चुच्चेढुङ्गामा पुग्ने गरेका छन्।

पहिला खुलारूपमा घुम्न र ढुङ्गामा चढ्न पाएको भए पनि पछिल्लो समयमा जग्गाधनीले ढुङ्गा भएको वरिपरि तारबार गरेर टिकटको व्यवस्था गरेपछि कमै मान्छेले मात्रै सो ढुङ्गा चढ्ने गरेका छन्। सबैको रोजाइ चुच्चेढुङ्गा चढ्ने नभए पनि विशेषगरी बालबालिका र युवायुवती जोडीको पहिलो रोजाइ चुच्चेढुङ्गा चढ्नु र तस्वीर खिच्नु हुने गरेको छ।

त्यसरी चढ्न जानेहरुले काटेको टिकटबाट मात्रै दैनिक ८ सय भन्दा बढी रकम सङ्कलन हुने गरेको प्रजिता श्रेष्ठले बताइन्। ‘दैनिक करिब ८ सय रकम जम्मा हुन्छ। शनिबार र बिदाको दिन मान्छेको आगमन अझ बढी हुन्छ,’ उनले भनिन्।

पहिले खुला रहेको डाँडामा पर्यटकको आगमन बढ्न थालेपछि अहिले होटल र रिसोर्टका साथै साना खुत्रुके पसलले भरिन थालेको छ। जहाँ एकपछि अर्को गर्दै व्यवसायीले होटल र साना पसल राख्न थालेपछि खुलारूपमा घुम्न पाउने अवस्था अन्त्य भएको छ।

व्यवसाय आफ्नो–आफ्नो जग्गामा घेराबार लगाएर वनभोजस्थल र उद्यान बनाउन थालेका छन्।

सो ठाउँमा पुगेका कतिपयले भने अनावश्यकरूपमा रकम मात्रै सङ्कलन गरेर दुःख दिने काम भएको गुनासो गरेका छन्। काठमाडौँबाट घुम्नलाई देवीस्थानडाँडा पुगेका विपीन श्रेष्ठले भने, ‘पैसा तिरेवापत हामीले के नै पाउँछौं र ? पहिला आउँदा यसरी पैसा तिर्नुपर्ने थिएन, अहिले आउँदा पैसा तिरेर आउनुप¥यो, अझ ढुङ्गा चढ्नका लागि छुट्टै तिर्नुपर्ने रहेछ। यसले यहाँ आउने पर्यटकका लागि राम्रो सन्देश दिँदैन।’

तेमाल गाउँपालिका–६ ठुलोपर्सेलका सुनिल तामाङले पैसा तिरेअनुसारको कुनै सुविधा नभएकाले पैसा तिरेर धुलिखेलडाँडा घुम्न जानुको कुनै औचित्य नरहेको बताए।

धुलिखेल–८ पिपलबोटबाट शुरु भएको हजार सिँढी चढेर माथि पुगेपछि आउने देवीस्थानडाँडा सबैको रोजाइको स्थल भए पनि पछिल्लो समयमा टिकट काटेर पैसा लिने तर व्यवस्थापन राम्रो नभएको गुनासो गरेका छन्।

यसअघि हजार सिँढी शुरु हुने ठाउँमा गौखुरेश्वर सामुदायिक वन उपभोक्ता समिति र नगरपालिकाले संयुक्तरूपमा हजार सिँढी तथा देवीस्थान उद्यान प्रवेश शुल्कको नाममा टिकट काट्ने व्यवस्था गरिएको थियो।

पछिल्लो समयमा नगरपालिकाले वार्षिक १८ लाखमा ठेक्कामा केएल विल्डर्सलाई जिम्मा दिएको छ। हजार सिँढी र देवीस्थान उद्यान प्रवेश शुल्क भनेर प्रतिव्यक्ति २०, विद्यार्थीलाई १०, विदेशी नागरिकलाई १०० र सार्क राष्ट्रका नागरिकलाई ५० लिने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .