ad ad

समाज


दुध पुर्‍याउन गएकी फुपुकी छोरीले जब भण्डारी दम्पती ढलिरहेको देखिन्

दुध पुर्‍याउन गएकी फुपुकी छोरीले जब भण्डारी दम्पती ढलिरहेको देखिन्

गोकुल जोशी
फागुन १५, २०७६ बिहिबार १६:२४,

टायलले छाएको दुई कच्ची घर, वरपर फुल तथा बोटविरुवा। घरको यो दृश्य हो, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरको हो, जहाँ एउटा दुखद घटना भयो।

त्यो घरमा बस्ने श्रीमान–श्रीमती नै बिहीबार मृत अवस्था भेटिए।

बिहीबार दिउँसोे प्रहरीको १०० नम्बरमा फोन आयो, त्यही दुखद खबर लिएर। कलुवापुरस्थित कटान टोलमा भएको त्यो विभत्स घटनाको खबर पाउनासाथ प्रहरी त्यहाँ पुग्छ। त्यहाँ ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २५ वर्षीय धनादेवी भण्डारीको शव रक्ताम्य अवस्थामा भेटियो।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार घरको भान्सा कोठामा श्रीमती र कोठाको पलङमा श्रीमानको शव भेटिएको थियो। धनादेवीको टाउको र जयलालको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिन्छ।

मृतक दुवै जनाको घाँटीमा चोट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए।

मृतक जयलालको धनादेवीसँगको दोस्रो बिहे थियो। तीन वर्ष अगाडि पहिलो श्रीमतीको मृत्यु भएको झण्डै डेढ महिनापछि शुक्लाफाँटा नगरपालिका–११ अमरपुर बस्ने धनासँग उनले दोस्रो विवाह गरेका थिए। पहिलो श्रीमतीबाट दुई छोरा र एक छोरी छन् भने दोस्रो श्रीमतीबाट ६ महिने दुधे बालक।

मृतक भण्डारीको घरमा दम्पती सहित ६ महिने दुधे बालक बस्थे। पहिलो श्रीमतीतर्फका छोराहरुमध्ये एक डडेल्धुरा बस्छन् भने अर्का महेन्द्रनगर बसेर गाडीमा काम गर्छन्।

मृतक जयलालले जेठो छोरा भरत भण्डारीलाई डेढ वर्ष अगाडि खुकुरी प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ। छोरालाई खुकुरी प्रहार गरेपछि पक्राउ परेका जयलाल २८ दिनपछि धरौटीमा छुटेका थिए।

६ महिने दुधे बालकका लागि धनादेवीको माइतबाट दुध ल्याउने गरिएको थियो। बिहीबार दुधका लागि धना नआएपछि उनकी फुपुकी छोरी दुध पुर्‍याउन घर पुगिन्। घरभित्र शव देखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन्। आमाबुवाको मृत्यु भएपछि ६ महिने दुधे बालकको बिचल्ली भएको छ।

प्रहरीले घटनास्थल सिल गरेर आवश्यक जाँच थालेको छ। बिहीबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय झलारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थलमै छ। कुकुरसहितको प्रहरी टोली पनि धनगढीबाट मगाइएको प्रहरी स्रोतले जनाएको छ।

kanchanpur2

‘अनुसन्धान घटनास्थल केन्द्रित’
घटनास्थल केन्द्रित गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकहरुको घाँटी तथा टाउकोमा चोट भएकाले घटना शंकास्पद रहेको बताउँदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी मुकुन्द मरासिनीले अनुसन्धान जारी रहेको बताए।

‘अहिले नै यस्तो हो भन्न सकिने अवस्था छैन, हामीले सबै कुरा अध्ययन गर्दैछौँ, घटनास्थललाई केन्द्रीत गरेर काम गर्दैछौँ’, एसपी मरासिनीले भने, ‘केही सबुत नष्ट नहोस् भन्ने हिसाबले क्राइम सिनलाई नियन्त्रणमा लिएका छौँ, भोली शुक्रबार पनि यसमा काम गछौँ।’

शंकास्पद कुराहरु संकलन गरिरहेको उनले बताए। शव पोष्टमार्टमका लागि महाकाली अस्पताल ल्याइएको छ। आफन्तहरु नपुगेको जनाउँदै उनीहरुबाट पनि केही कुरा खुल्ने प्रहरीले जनाएको छ। हत्या हो कि भन्ने कोणबाट अनुसन्धान भइरहेकोे छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .