प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विना भेदभाव भ्रष्टाचारीलाई कारबाही गर्ने सम्बन्धमा संसदलाई आश्वस्त तुल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय मागेर बोल्दै नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारले गरेको बाचा र कार्यशैलीमा भिन्नता देखिएको भन्दै भ्रष्टाचार गर्दिन र हुन दिन्न भन्नेमा प्रधामन्त्रीले संसदलाई आश्वस्त तुल्याउनुपर्ने धारणा राखेका हुन्। प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्ने, संविधान र लोकतन्त्रलाई खतरा पुग्ने काम नगर्नेमा संसदलाई आश्वस्त गराउने विश्वासका साथ संसद सुचारु गराउन प्रतिपक्षी दल तयार रहेको पनि उल्लेख गरे।
उनले भने, ‘काँधमा सवारले पो तुर्काएको रहेछ तपाईले होइन। तर सर्वाङ्ग गन्हाउँदै छ प्रधानमन्त्री जी। त्यसैले संसदमा आउनुहोस्। आश्वस्त तुल्याउनुहोस् भ्रष्टाचार अब गर्न दिन्न भनेर। संसदमा आउनुहोस्। आश्वस्त तुल्याउनुहोस्, संविधान र लोकतन्त्र कसैले मिच्न सक्तैन भनेर।’
कांग्रेसले सेक्युरिटी प्रेस कमिसन प्रकरणका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बरखास्त गरेर भ्रष्टाचारको अभियोगमा कारबाही अघि चलाउन माग गर्दै फागुन ८ गते संसद अवरुद्ध गरेको थियो। प्रधानमन्त्रीले संसदमा आएर मन्त्री बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको भनिएको भिडियो सामाग्री र बाँस्कोटालाई कारबाही गर्ने प्रतिवद्धता गर्नुपर्ने माग गरेको थियो।
उनले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्दै गर्दा मन्त्रालय भित्रैको भ्रष्टाचारले सीमा नाघेको र लाजमर्दो स्थिति श्रृजना भएको टिप्पणी गरे। आर्थिक अनियमिता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङको काम अघि नबढाउन सरकारलाई निर्देशन दिनु ‘लाजमर्दो’ कुरा भएको टिप्पणी उनले गरे।
उनले भने, ‘यति होल्डिङलाई नेपाल ट्रष्टको जमिन र विल्डिङहरु जसरी दिईदै छ। अनि भनिन्छ , यसो गर्न सकिन्छ भनेर विधानमा लेख्या छ, ऐनमा लेख्या छ। त्यही ऐनलाई प्रयोग गरेको हुँ भनेर। ऐनलाई प्रयोग गरेको अर्थ यति फेला पर्ने वित्तिकै भएभरको लामो सम्बन्धको आधारबाट यतिलाई दिँदै जाने अनि कति कति दिने हो? त्यसको पनि टुंगो छैन।’
उनले बालुवाटार जग्गा प्रकरणमा प्रधानमन्त्रीले आफ्नो गुटलाई बचाउने काम गरेको आरोप लगाए। उनले भने, ‘वालुवाटार जग्गा प्रकरणमा सरकारले अख्तियारलाई यसरी प्रभावित गर्यो। सर्वाङ्ग लाज लाग्दो स्थिति छ। विरोधी भए दोषी हुन् निर्दोष हुन् जेल जानुपर्ने। कम्युनिष्ट नै हुन् तर आफ्नो गुटका होइनन् भने तीनको बद्नाम गरिने, थरी थरीका आक्षेप लगाउने अनि सफाईको अर्को मौका पनि नहुने गरी केसलाई अगाडि बढाउने। होइन अफ्नै गुटका भए जे लिएको भएपनि फिर्ता गरे पुग्छ भन्ने, यो भन्दा पराकास्ट केही हुँदैन।’
संसदको सार्वजनिक लेखा समितिले वाईडवडी जहाजबारे एक महिना भित्र छानविन गर्न अख्तियारलाई लेखि पठाए पनि अहिलेसम्म प्रक्रिया अघि नबढेको भन्दै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
उनले भने, ‘आज हामीले संसदमा उभिएर भन्न आवश्यक छ। प्रधानमन्त्री ज्यूको ध्यान आकृष्ट गर्न आवश्यक छ कि वाईडवडीकाबारेमा अख्तियारले चाँडै केस टुंगो लगाएर दोषीहरुमाथि कारबाही प्रक्रिया प्रारम्भ गरोस्।’
स्याटलाईड सञ्चालन लगायत विभिन्न योजनाहरुमा सञ्चार मन्त्रालय भित्रै खरबौको भ्रष्टाचार भईरहँदा प्रधानमन्त्रीले छानबिन गर्नुको सट्टा प्रशंम्सा गर्ने गरेकोमा व्यंग्य गर्दै प्रधानमन्त्रीलाई कुन लोकमा हुनुहुन्छ भनी प्रश्न गरे।
उनले भने, ‘पत्रपत्रिकामा आएको छ एउटै मन्त्रालयमा खरबौ रुपैयाँका योजनाहरु भ्रष्टाचारका लागि तयार गरिएको थियो भनेर। त्यसैले होला तुलामा राख्दा अरु सबै एकातिर अनि सञ्चारमन्त्री अर्को तिर भन्या। सरकार कुन लोकमा हुनुहुन्छ थाहा छैन। प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ थाहा छैन।’ उनले प्रधानमन्त्रीले जन्मदिन मनाउने शैलीको पनि आलोचना गरे। पुराना राजा महाराजाले जन्मदिन मनाउने शैली सामान्य रहेको स्मरण गर्दै उनले प्रधानमन्त्रीको शैलीलाई ‘सत्ताउन्माद’ को संज्ञा दिए।
उनले भने, ‘जन्मदिनमा तपाईको सत्ता उन्माद देखेर आम नागरिक दिग्दार छ निरास छ प्रधानमन्त्री ज्यू। जन्मदिनको दिन कार्यक्रममा प्रधानमन्त्रीको पुर्खोली घर देखियो। आफ्नै आँगनको केटोले एउटा कृतिमान राजनीतिक यात्रा कायम गर्यो भनेर स्वागतको अभिलासा थियो होला त्यो घरलाई पनि। तर जुन तामझामका साथ ४÷५ हेलिकोप्टर लिएर देशका प्रदेशका अनि अन्य राज्य संरचनाका, पार्टीका विशिष्ट व्यक्तिहरुलाई बोकेर जानुभयो, घरलाई लाग्यो होला आफ्नो खड्ग प्रसाद यो होइन? नयाँ महाराजा सवारी भएछ भनेर। सायद त्यो घरको आत्माले चिनेन होला प्रधानमन्त्री ज्यू। तपाईले एक मिनेट आफ्नो अन्तरमनलाई सोध्नुभयो? तपाई कुन लोकमा हुनुहुन्छ? जनता कुन लोकमा छ्न्?
कम्युनिष्ट सरकार अनि जनताको प्रधानमन्त्रीले राजधानीबाट केक लगेर तामझाम गरेको देख्दा सर्वसाधरण जनताले अपमानित महसुस गरेको भन्दै उनले भने, ‘यति हाल्डिङको पैसा र हेलिकोप्टरले पुर्याएको केक देख्ता अपमानित महसुस गर्यो होला। घरले सम्झ्यो होला, आज नराम्रोसँग अपमानित भएँ मेरो घरको केटोलाई स्वागत गर्न बसेको थिएँ भनेर। जन्मदिनमा ४ हजार वृद्धवृद्धालाई सारी र कोट बाड्ने कार्यक्रम थियो भनेर सुनीयो, पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउनुपर्ने पुराना राजा महाराजालाई पनि ईर्ष्या लाग्यो प्रधानमन्त्रीज्यू।’
उनले सरकार कम्युनिष्टको सिद्धान्त र आचरण नै विर्सेर सत्ता उन्मादमा फस्दै गएको टिप्पणी गरे। हिजोको बैभव राजा महाराजाको नक्कलले कम्युनिष्ट पार्टीलाई गाँजेको भन्दै उनले शुसासन र विकासका झुटा बाचाबाट जनताहरु आक्रान्त बनेको दाबी गरे।
उनले भने, ‘हिजो राजनीति गर्ने हो भने श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारीले तर आज श्री डेढ, श्री अढाई, श्री साढे सातका मान अनुरुप थरि थरीका श्रीपेच लगाएका कम्युनिष्ट आत्मजन र मित्रलाई देख्दा के भन्ने होलान् मदन भण्डारी? कार्ल मार्क्सले भनेका थिए इतिहास दोहोरिन्छ। पहिलो पल्ट दुःख पीडा र त्रासदीमा त्यसपछि परिहारका रुपमा। प्रधानमन्त्रीज्यू तपाईको कम्युनिष्ट पार्टी कहाँ छ। सम्झनुहोस् जनताले समिक्षा गर्दैछन्। प्रधानमन्त्रीज्यू तपाईको कम्युनिष्ट पार्टी कहाँ छ?’
उनले प्रधानमन्त्रीलाई आरोग्य र दिर्घायुको शुभकामना पनि दिएका थिए।

प्रतिक्रिया