महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन्। उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन्।
शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत (सर्वाधिक मत) प्राप्त गर्दै विजयी भएकी हुन। उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्ने छिन्।
बन्दना राणा लगातार तेस्रो पटक सिडको सदस्यमा निर्वाचित भएकी हुन्।
राणा विजयी भएपछि नेपालको तर्फबाट राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिए।
संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले बन्दना निर्वाचित भएकोमा ‘नेपालका लागि गौरवको क्षण’ भनेको छ।
‘नेपालकी उम्मेदवार बन्दना राणा सर्वाधिक मत (१४६ मत) ल्याएर २०२५–२८ कार्यकालका लागि सिड समितिमा पुनः निर्वाचित हुनुभएको छ,’ मिसनले एक्समा भनेको छ, ‘हामी संयुक्त राष्ट्रसंघका सबै सदस्यहरूलाई यस भारी समर्थनको लागि धन्यवाद दिन्छौं।’
उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसंघमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ। उक्त समितिको कार्यालय जेनेभामा छ। रासस
Shares
प्रतिक्रिया