कान्तिपुर दैनिकका पूर्वसम्पादक नारायण वाग्लेले कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको तथा उनकै पक्षमा बोल्दा मह जोडीलाई माफी मगाइएकोप्रति तीव्र असन्तुष्टि जनाएका छन्।
हाल कृषि कर्ममा संलग्न पत्रकार वाग्लेले नागरिकता किर्ते आरोपमा पक्राउ परेका सिरोहियाप्रति समाचारकै कारण सत्ताले प्रतिशोध साँधेको आरोप लगाएका छन्।
यसैगरी सिरोहिया पक्राउको विरोधमा बोल्दा कलाकारद्वय मदनकुष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सामाजिक सञ्जालले क्षमा माग्न बाध्य पारेको टिप्पणी गरेका छन्।
दुवै घटनालाई वाग्लेले असहिष्णुता बढेको प्रमाण मानेका छन्।
मंगलबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘असहिष्णुता बढ्यो : पत्रिका छाप्ने कैलाश सिरोहियासँग प्रतिशोध साँध्ने सत्ता, मनमा लागेको बोलेका मह जोडीलाई माफी मगाउने सञ्जाल।’

सिरोहियाको नागरिकता नम्बर पहिले नागरिकता लिएका व्यक्तिको नम्बरसँग मिलेकोलगायत विभिन्न गडबडी भएको भनी धनुषा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि अनुसन्धानका लागि उनी यही जेठ ८ गतेदेखि प्रहरीको नियन्त्रणमा छन्।
जेठ ८ गते साँझ काठमाडौँस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरी धनुषा लगिएका उनी हिरासतमा बस्दा बिरामी परेपछि जेठ ११ गतेदेखि अस्पतालमा छन्। जनकपुरकै काव्या अस्पतालमा उपचारत उनलाई थप उपचारका लागि भन्दै आज (मंगलबार) मात्रै काठमाडौँ ल्याइएको छ।
Shares

प्रतिक्रिया