ad ad

समाज


चेक लिएर घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने

चेक लिएर घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने

नेपालखबर
जेठ २, २०८१ बुधबार १९:५७, काठमाडौँ

गुठीको जग्गा हिनामिना र सेवाग्राहीबाट घुस लेनदेनमा संलग्न गुठी संस्थान, जनकपुरका कर्मचारी र बिचौलिया भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले गुठी संस्थान, जनकपुरका सहायक प्रशासक मनोजकुमार आचार्य, पूर्वसहायक प्रशासक मनोजकुमार शर्मा, पूर्ववरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, पूर्वकार्यालय प्रमुख राजबाबु पाण्डे र बिचौलिया सुमनकान्त ठाकुरलाई दोषी ठहर गरेको हो।

मोहियानी हकको जग्गाको मुआब्जा लिनदिन सहयोग गरेवापत राजबाबु पाण्डेले १९ लाख ३० हजार र मनोजकुमार आचार्यले ६ लाख ५० हजार चेकमार्फत लिएको पुष्टि भएको अदालतको ठहर छ।

मोहियानी हकभागको मुआब्जावापत प्राप्त रकममध्येबाट बिचौलिया सुमनकान्त ठाकुरले गायत्रीदेवी जयसवालबाट ५६ लाख १ हजार ६६७ र शत्रुधन जयसवालबाट ७ लाख ३५ हजार गरी जम्मा ६३ लाख ३६ हजार ६६७ लिएका थिए। त्यो रकमको केही भाग उनले कर्मचारीहरूलाई बाँडेका थिए।

मनोजकुमार आचार्यलाई १ वर्ष ६ महिना कैद, ६ लाख ५० हजार जरिवाना र त्यति नै बिगो रकम असुल हुने गरी अदालतले सजाय तोकेको छ।

बिचौलिया हरिचन्द्र भुसालले सूर्यनारायण लाल कर्णबाट ४ लाख ३० हजार चेकमार्फत लिई सो रकम राजबाबु पाण्डेलाई दिएर मतियारको कसुर देखिएकाले मुख्य कसुरदारलाई हुने सजायको आधा अर्थात् २ लाख १५ हजार जरिवाना र ३ महिना कैद सजाय सुनाइएको छ।

राजबाबु पाण्डेले १९ लाख ३० हजार र सुमनकान्त ठाकुरले ६३ लाख ३६ हजार ६६७ रूपैयाँ भ्रष्टाचार गरेकाले उनीहरूलाई ३ वर्षभन्दा बढी सजाय हुने भएको छ। कैद सजाय कति गर्ने भन्ने अर्को सुनुवाइबाट निर्धारण गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .