समाज


८० किलो फलामको १० फिट लामाे खुकुरी निर्माण

८० किलो फलामको १० फिट लामाे खुकुरी निर्माण

कमल खत्री
फागुन ७, २०७६ बुधबार ४:२८,

पर्वतको जलजला गाउँपालिका-२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलो फलामको खुकुरी निर्माण गरेका छन्।

तीन महिनाको अवधिमा सुनार नेतृत्वमा चार जनाको समूहले हालसम्मकै सबैभन्दा ठूलो खुकुरी तयार गरेको हो।

असी किलोको कुखुरीको उचाई साढे १० फिट छ। ४ मंसिरदेखि खुकुुरी बनाउन शुरु गरी २९ माघमा सकेको सुनारले बताए।

सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल विक खुकुरी निर्माणमा खटिएका थिए। तीन महिना लगाएर निर्माण भएको खुकुरी अहिले पर्वत बेनीमा जारी १३ औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा राखिएको छ।

सुनारले माझफाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आएका छन्। महोत्सवमा राखिएको खुकुरीलाई दर्शकले चासो र जिज्ञासाको साथ अवलोकन गर्ने गरेका रेडियोका दिदी बहिनीकी अध्यक्ष कल्पना चापागाईंले बताइन्।

महोत्सवको मञ्चको छेउमा कुखुरीलाई ठाडो पारेर सबैले देख्न सक्ने गरी राखिएको छ। खुकुरीमा फलामसँगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको छ।

‘तीन वर्षदेखि ठूलो खुकुरी बनाउने योजना बनाएको थिएँ, फलामको साइज नेपालमा नभेटिएपछि भारतबाट मगाएको हुँ,’ सुनारले भने, ‘नेपालको राष्ट्रिय हतियारको रूपमा विश्वभर रहेका नेपालीको पहिचान र नेपालको चिनारीका लागि खुकुरीमार्फत प्रयास गरेको हुँ।’

खुकुरी निर्माणमा दुई लाख खर्च भएको छ। सामान खरिद र चार जनालाई तीन महिनाको पारिश्रमिक खर्चसमेत आफैँले जुटाएर खुकुरी बनाएको उनले बताए।

आफ्नो लगानी उठ्ने गरी सङ्ग्राहलयमा राख्नका लागि सो खुकुरीलाई बिक्री गर्ने योजना बनाएको उनको भनाई छ।

आफ्ना अभिभावकले गर्दै आएको आरान पेशालाई आधुनिकीकरण गरेका सुनारले आकर्षक तरबार, खुकुरी, दाउ, आँसीलगायतका हतियारसँगै फलामका भाँडासमेत बनाउँदै आएका छन्।

उनले महोत्सव परिसरमा आफ्नो उद्योगमा निर्माण गरिएका हातहतियार र औजार समेत बिक्रीका राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad