समाज


गुल्मीमा आगलागीबाट ८३ घरगोठ जले

गुल्मीमा आगलागीबाट ८३ घरगोठ जले

सांकेतिक तस्बिर


नेपालखबर
बैशाख ९, २०८१ आइतबार २१:१६, तम्घास

गुल्मीमा आगलागीबाट ८३ घरगोठ जलेका छन्। शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा लागेको आगोले ३७ घर र ४६ गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन्।

आगलागीबाट करोडौंका भौतिक संरचना एवं सयौँको सङ्ख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले जानकारी दिए।

शनिबार दिउँसोबाट इस्मा गाउँपालिका–२ स्थित सिन्दुखाको रानी सामुदायिक बनमा लागेको आगो बस्तीमा पसेको थियो जसबाट हस्तिचौरका १५ जनाको घरगोठ जल्नाका साथै दर्जनौँ चौपायाको आगोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ।  

इस्मा गाउँपालिका–१ मा लागेको आगोका कारण ट्र्याक्टरचालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन्। डढेलोका कारण लु४त ६५३५ नंको ट्र्याक्टर जलेर पूर्ण रूपमा क्षति भएको छ।

आगोले घरभित्र भएका अन्न, लत्ताकपडा, गरगहनालगायत सबै सामग्री नष्ट गरेकाले पीडित झनै समस्यामा परेका छन्। जङ्गलमा आगो लागेको बेला हावाहुरी चलेपछि नियन्त्रणमा कठिनाइ हुँदा आगो बस्तीमा पसेको थियो। जिल्लाको इस्मा, रेसुङ्गा, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिकाका साथसाथै अन्य स्थानमा पनि आगलागी भइरहेको छ।

जिल्लामा आगलागीबाट पीडित भएकाका लागि राहत र उद्धार कार्य जारी छ। पीडितलाई गुल्मी उद्योग वाणिज्य सङ्घले कपडा, नेपाल रेडक्रस सोसाइटीले त्रिपाललगायत अत्यावश्यक सामग्री, गाउँपालिकाले खाद्यान्न प्रदान गरेका छन्।

त्यसैगरी, खानेपानी तथा सरसफाइ कार्यालयले दुई हजार पाँच सय मिटर पाइप एवं जिल्ला प्रशासन कार्यालयले प्रतिपरिवार २० हजारका दरले राहत रकम प्रदान गरेको छ। मरेका चौपायाबाट थप दुर्गन्ध फैलिन नदिन आगलागीमा परी मरेका पशुलाई स्थानमा गाड्ने काम भइरहेको छ।

आइतबार गुल्मी क्षेत्र नं २ ‘क’ का सासंद डिल्लीराज भुसाल, जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायत समूहले घटनास्थलको अवलोकन गरेको छ।

आगोले विद्युत्को सबस्टेसनसमेत जलेको छ। शुक्रबार नजिकैको वनबाट लागेको डढेलो पसेपछि गुल्मीदरबार गाउँपालिका–४ वीरवासको विद्युत् सबस्टेसन जलेको छ। सबस्टेसन पूर्णरूपमा क्षति हुनबाट रेसुङ्गा नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयले बचाएका छन्। आगोबाट करिब दुई करोड बराबरको क्षति भएको छ।

नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार महत्वपूर्ण कन्डक्टर, केवललगायत सामग्री जलेकाले प्रारम्भिक रूपमा करिब दुई करोडको क्षति भएको अनुमान गरिएको छ। डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा उद्धार र राहतको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए।

जिल्लामा लागेको आगोबाट भएको क्षतिको विवरण आउन भने केही समय लाग्ने शर्माले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .