ad ad

समाज


बेहुला पनि घाइते, मृतकमध्ये दुई जनाको सनाखत

बेहुला पनि घाइते, मृतकमध्ये दुई जनाको सनाखत

घटनास्थल


नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १०:४१, काठमाडौँ

सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ज्यान गुमाउने तीनमध्ये दुई जनाको सनाखत भएको छ। 

दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट गएराति जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ पिस्करमा रहेको बेहुलीको घरतर्फ आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस आज (शुक्रबार) बिहान तौथलीको धारावतीमा दुर्घटनामा परेको हो। 

सुस्पाबाट बेहुला सुशिल थामीलाई लिएर पिस्कर मुलाबारीमा रहेकी बेहुली गोरी थामीको घरतर्फ जाँदै गर्दा बस दुर्घटनामा परेको हो। घटनास्थल त्रिपुरासुन्दरीको गौथलीबाट एक किमी दुरीमा पर्छ। 

दुर्घटनामा झण्डै ४० जना घाइते भएका हाल घटनास्थलमै रहेका भिमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिए।

मानन्धरका अनुसार दुर्घटनामा ज्यान गुमाउने भिमेश्व- १ का करिब २२ वर्षीय शिव श्रेष्ठ र सोही ठाउँका अन्दाजी ७० वर्षीय मानबहादुर थामीको मात्रै सनाखत भएको छ। 

‘एक मृतकको अझै सनाखत हुन बाँकी छ। बेहुला पनि सामान्य घाइते छन्,’ मेयर मानन्धरले नेपालखबरसँग भने, ‘हामी अहिले घाइतेको उद्धारमा खटिएका छौँ।’

उनले गाउँबाट गएराति करिब डेढ बजे बस जन्ती लिएर बेहुलीको घरतर्फ हिँडेको जानकारी दिए। घटनाको खबर पाएलगत्तै मेयर मानन्धर घटनास्थलमा पुगेका हुन्। ‘घटनाको खबर पाएलगत्तै म यहाँ आएको हो,’ उनले भने।  

घटनास्थल नजिकै रहेको सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी- ६ का वडाध्यक्ष रमेश बोहोराले सडकबाट पल्टिएको बस झण्डै २ सय मिटर तल खसेर भिरमा अड्किएको जानकारी दिए। कच्ची र अप्ठ्यारो सडकको कारण बस पल्टिएको हुन सक्ने उनले बताए। 

‘गाडी भिरमा अड्किएको छ। ५५ जना सवारमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। बाँकी करिब ३३ जना घाइते छन्,’ अध्यक्ष बोहोराले भने, ‘प्रहरीले सुरुमा ५२ जना घाइते भनेपनि सुरुमा आत्तिएर बेहोस जस्तो बनेका धेरै यात्रु अहिले ठिकठाक देखिनु भएको छ।’

सामान्य घाइतेको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको उनले बताए। 

शुक्रबार बिहान साढे सात बजे बस दुर्घटनामा परेको हो। गम्भीर घाइतेलाई थप उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .