ad ad

समाज


शालीन मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहनको मुद्दामा बहस हुँदै, अदालतमा कडा सुरक्षा

शालीन मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहनको मुद्दामा बहस हुँदै, अदालतमा कडा सुरक्षा

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८० मंगलबार १४:३३, काठमाडौँ

चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टलमा मृत भेटिएकी शालीन पोखरेलको आत्महत्या दुरुत्साहन मुद्दामा भएको थुनछेक बहस मंगलबार पनि जारी छ।

सोमबारदेखि जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवाली इजलासमा भइरहेको नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो। हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा मंगलबार पनि सुनुवाइ जारी छ।

स्कुलका प्रिन्सिपल बालहरि देवकोटा, शिक्षक किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमलप्रसाद शर्माविरुद्ध शालीनका काका दीपेन्द्र पोखरेलले दिएको मुद्दामा आज आदेश आउने सम्भावना छ।

उनीहरूलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउने कि तारेखमा छाड्ने भनेर भएको बहस जारी रहेको चितवन जिल्ला अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले बताए।

शालीनले आत्महत्या गरेको निष्कर्षसहित जिल्ला सरकारी वकिल कार्यालयले प्रिन्सिपलसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

उक्त विद्यालयको होस्टेलमा बस्दै आएकी १४ वर्षीया शालीनले फागुन १२ गते बिहान सवा १० बजेतिर आत्महत्या गरेकी थिइन्।

घटनाको २० दिन लामो अनुसन्धानपछि प्रिन्सिपल बालहरि देवकोटा, शिक्षक किरणबहादुर अधिकारी र कमलप्रसाद शर्माविरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिएको अभियोग लगाइएको छ।

प्रतिवादीहरूलाई आत्महत्या दुरुत्साहनको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ।

सोमबार तीनजना प्रतिवादीको बयान सकिएपछि सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले बहस गरेका थिए। जाहेरवाला र प्रतिवादीको तर्फबाट मंगलबार बहस भइरहेको श्रेस्तेदार आचार्यले बताए।

थुनछेक बहस सकिएपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि बाहिरै राखेर मुद्दाको फैसला गर्ने भन्ने अदालतले आदेश गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .