समाज


चीनबाट ल्याइने नेपालीलाई विमानस्थलदेखि खरिपाटी लान यसरी गरियो रिहर्सल

चीनबाट ल्याइने नेपालीलाई विमानस्थलदेखि खरिपाटी लान यसरी गरियो रिहर्सल

मणि दाहाल
फागुन २, २०७६ शुक्रबार ९:४,

शुक्रबार अपरान्ह एउटा एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीव्र गतिमा भक्तपुरको खरिपाटी पुग्यो।

त्यो एम्बुलेन्सलाई प्रहरीका गाडीले एस्कर्टिङ गरिरहेका थिए भने त्यही लाममा थिए अन्य सरकारी गाडीहरु।

ती सबै गाडीको ताँती सीधै विद्युत प्राधिकरणको तालिम केन्द्र प्रवेश गरे र त्यहाँ रहेका फरकफरक ब्लकमा बाँडिए।

Bidar Kharipati

ती ब्लक चीनको वुहानबाट आइतबार बिहान झिसमिसेमै ल्याइने नेपालीलाई क्वारेन्टाइन (परीक्षण) का लागि राख्न तयार पारिएका हुन् भने उनीहरुलाई विमानस्थलमा ‘रिसिभ गर्ने’ र त्यहाँदेखि भक्तपुरको खरिपाटीमा राख्नेबारे सरकारी युनिफाइड टोलीले शुक्रबारदेखि रिहर्सल सुरु गरेको हो। त्यही रिहर्सल र तयारीको क्रममा सरकारी टोली त्यहाँ पुगेको थियो।

Kharipati 5

सरकारले खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा चारवटा ब्लकलाई शनिबारसम्म तयारी अवस्थामा राख्न प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधीहरुको युनिफाइड (संयुक्त) टोलीले तयारी तीव्र पारेको छ।

वुहानबाट नेपालीहरुलाई ल्याउनका लागि शनिबार अपरान्ह ३ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहानतर्फ उड्ने र आइतबार बिहानै २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका तय भएको छ।

सोहीअनुसार उनीहरु आइपुगेपछि विमानस्थलदेखि खरिपाटीसम्म लैजाने प्रक्रियाबारे संयुक्त टोली रिहर्सलपछि तालिम केन्द्रमा खटिइरहेको छ।

बिडारीका अनुसार सो तालिम केन्द्रमा तयार पारिएका चार वटा ब्लकमा पुरुष र महिलालाई छुट्टाछुट्टै राखिनेछ।

Kharipati 4

वुहानबाट आउन तयार रहेका १८५ नेपालीमध्ये ४४ महिला छन्।

‘तर, जोडीहरुको हकमा सँगै बस्न दिइनेछ, किनभने उहाँहरु उता पनि सँगै नै बसिरहनुभएको छ,’ बिडारीले बताए।

त्यहाँ खटिने स्वास्थ्यकर्मीको टोलीलाई एउटा ब्लक छुट्याइएको छ भने नेपालीलाई लिन जाने विमानका चालक टोलीलाई नगरकोटको खानेपानी कार्यालयमा राखिने योजना छ।

चीनबाट आउने नेपालीलाई त्यहाँ राख्दा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तय गरेको दूरी लगायतको गाइडलाइन्स अनुशरण गरिने सरकारी टोलीले बताएको छ।

उनीहरुलाई प्रयोग गर्न दिइने सामान सबैजनालाई छुट्टाछुट्टै सेट उपलब्ध गराइने बिडारीले बताए।

वुहानबाट फर्काइने नेपालीको व्यवस्थापन गर्न सेनासहितको ‘युनिफाइड कमान्ड’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .