आज (सोमबार) विशेषगरी बेलुकीपख देशका धेरैजसो ठाउँमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
खासगरी आज मध्य र पूर्वी क्षेत्रमा वर्षाको सम्भावना बढी रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति पश्चिमी क्षेत्रका पनि थोरै स्थानमा पानी पर्ने संकेत देखिए पनि सम्भावना अलि कम रहेको महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए।
‘आज साँझ-राति मध्य र पूर्वी भेगमा वर्षा हुने सम्भावना छ,’ मौसमविद् रिमालले नेपालखबरसँग भने, ‘पश्चिमका पहाडी क्षेत्रमा पनि पानी पर्ने अवस्था त देखिएको छ तर सम्भावना कम छ।’
उनका अनुसार अहिले तत्काल सुदूरपश्चिमको पहाडी भेगमा पूर्ण बदलीको अवस्था छ। ‘एक/दुई स्थानमा मेघगर्जनसहित वर्षा हुनसक्छ,’ उनले भने, ‘तर रातिबाट भने पश्चिमी क्षेत्रमा त्यो प्रणाली (पानी पार्ने) कमजोर हुँदै जाने मौसमी संकेतले देखाएको छ।’
यस्तै मध्य क्षेत्रमा पर्ने काठमाडौं उपत्यकामा पनि आज साँझ या राति वर्षाको सम्भावना रहेको उनले जानकारी दिए। ‘मध्यम खालको अलि ठूलै वर्षा हुने देखिन्छ,’ मौसमविद् रिमालले भने, ‘यद्यपि भारी वर्षा नै होइन।’
पर्याप्त वर्षा कहिले हुन्छ?
लगातार झरी सुरु हुन भने अझै केही दिन लाग्ने माैसमविद् रिमालकाे अनमान छ। यस वर्ष मनसुन नै ढिला गरी भित्रिएकाले लगातार वर्षा हुन समय लागेको उनकाे भनाइ छ।
‘यस वर्ष नर्मल टाइम (सामान्य समय–जुन १०) भन्दा १० दिन ढिला गरी मनसुन भित्रियो, जति छिटो मनसुन आयो त्यति नै छिटो वर्षा पनि सुरु हुने हो,’ उनले भने, ‘यसैकारण असार १५ हुँदा पनि पर्याप्त वर्षा हुन नसकेको हो।’
अब एक/दुई दिनमा मनसुन सक्रिय भई झरी सुरु हुने मौसमविद्को अनुमान छ।
यस वर्ष पर्याप्त मात्रामा पानी नपरेकै कारण असार १५ भइसक्दा पनि मुलुकका धेरै स्थानमा राेपाइँ हुन सकेकाे छैन। अहिलेसम्म देशभर १४ प्रतिशत हाराहारीमा मात्र राेपाइँ सकिएकाे छ।
जसका कारण यस वर्ष धानकाे उत्पादनै घट्ने कृषि विज्ञहरुले बताएका छन्।

प्रतिक्रिया