समाज


मार्च नजिकिएसँगै बदलिँदै मौसम, सुरु हुँदै प्रिमनसुन

मार्च नजिकिएसँगै बदलिँदै मौसम, सुरु हुँदै प्रिमनसुन

प्रतिकात्मक तस्बिर


नेपालखबर
फागुन १४, २०८० सोमबार ७:४६, काठमाडौँ

हिउँदयाम अर्थात् विन्टर सिजनको अन्तिम महिना (फेब्रुअरी) सकिनै लाग्दा मौसम परिवर्तनतर्फ उन्मुख भएको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मार्च महिना नजिकिएसँगै प्रिमनसुनका संकेत देखिन थालेका छन्।

‘फेब्रुअरीसँगै विन्टरको अवधि समाप्त हुन्छ, मार्च लागेपछि प्रिमनसुन सुरु हुन्छ’, उनले सोमबार बिहान नेपालखबरसँग भनिन्, ‘अब तापक्रम बिस्तारै बढ्दै जान्छ भने मेघगर्जन/चट्याङ र हावाहुरी सुरु हुन थाल्छ।’

यसका संकेत बिस्तारै देखिन सुरु भइसकेको उनको भनाइ छ।

‘प्रिमनसुनमा बिहान मौसम सफा रहने, दिउँसो बादल बन्ने र साँझपख मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा हुने हुन्छ’, मौसमविद् मानन्धरले भनिन्।

महाशाखाकै अर्का मौसमविद् गंगा नगरकोटीका अनुसार प्रिमनसुनको औसत अवधि ३ महिना भए पनि मनसुन भित्रिनुभन्दा अघिसम्म प्रिमनसुन रहन्छ।

‘नेपालमा मनसुन (वर्षायाम) भित्रिने औसत मिति जुन १३ तारिख हो’, उनले भनिन्, ‘त्यसअघिसम्मलाई प्रिमनसुन नै मानिन्छ।’

मौसमविद् नगरकोटीका अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो, त्यसअघिसम्म मनसुन रहन्छ भने त्यसपछि पोस्ट मनसुन सुरु हुन्छ। यो नोभेम्बरसम्म रहन्छ। त्यसपछि फेरि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ। जुन याम यही फेब्रुअरी महिनासम्म रहन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .