नेपाली सेनाले सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततीहरूलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले नयाँ भवन निर्माण गरेको छ।
सैनिक कल्याणकारी कोषको रकमबाट निर्माण गरिएको वरदान सैनिक विशेष दिवा विद्यालयको आज (फागुन २ गते) प्रधान सेनापति प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले उद्घाटन गरे।
भवनको गत मंसिर १४ गते शिलान्यास गरिएको थियो ।
सैनिक श्रीमती संघको संरक्षकत्वमा संचालन हुने उक्त विद्यालयमा शैक्षिक सत्र २०८१ बाट ३० जना विशेष क्षमता भएका बालबालिकाहरू भर्ना गरी पठनपाठन आरम्भ गरिनेछ।
आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले परोपकारका क्षेत्रमा क्रियाशील सैनिक श्रीमती संघको पहलतामा निर्मित यस विद्यालय बहालवाला र अवकाश प्राप्त सैनिक व्यक्तिहरूका विशेष क्षमता भएका सन्ततीहरूको शिक्षा र जीवनोपयोगी क्षमता विकाशमा महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे।
उनले श्रीमती संघका सेवामूलक गतिविधिहरूको सराहना गर्दै यस विद्यालय संचालनका लागि सहायता जुटाउन आयोजित वरदान सुर सन्ध्यामा सहयोग पुर्याउने कलाकारहरू लगायत सम्वध्द सबैलाई धन्यवाद ज्ञापन गरे।
संघका अध्यक्ष सुनिता शर्माले विसं २०४० कार्तिक २२ गते स्थापित सैनिक श्रीमती संघ सैनिक व्यक्तिहरूका परिवारको कल्याण सँगसँगै विपद प्रभावित र अभावमा रहेका सर्वसाधारणको हितका क्षेत्रमा समेत क्रियाशील रहँदै आएको बताइन्।
उद्घाटन समारोहमा बलाधिकृत रथी अशोकराज सिग्देल, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अप्रा), रथीबृन्द तथा अधिकृत लगायत सैनिक श्रीमती संघका वर्तमान र पूर्व पदाधिकारीहरू, कलाकारहरू, विभिन्न सैनिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूका साथै सकल दर्जाको उपस्थिति थियो।
Shares

प्रतिक्रिया