आगामी एक हप्ता देशभर मौसम सफा रहने मौसमविद्ले अनुमान गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले आगामी एक हप्ता वर्षा तथा हिमपात हुने कुनै सम्भावना नरहेको बताएका हुन्।
‘अब १ हप्तासम्म कुनै सिस्टम (पानी पार्ने प्रणाली) आउने सम्भावना देखिएको छैन,’ सोमबार बिहान नेपालखबरसँग मौसमविद् पौडेलले भने, ‘अब एक हप्ता देशभर सामान्यतया मौसम सफा रहनेछ र घाम लाग्नेछ।’
उनका अनुसार यस अवधिमा बिहान-बेलुका सामान्य चिसो हुनेछ भने दिउँसो घाम लाग्नेछ।
आज (सोमबार) पनि देशका सबैजसो स्थानमा घाम लाग्ने उनले बताए।
‘पहाडी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ, आकाशमा बेलाबेला अलिअलि बादल देखिन सक्छ,’ उनले भने, ‘त्यो पनि पूरै घाम छेक्ने गरी होइन, घाम लाग्छ।’
दुई/तीन दिनदेखि प्रभाव पारिरहेको पश्चिमी न्यून चापीय प्रणाली हिजो आइतबार बेलुकादेखि नेपालबाट बाहिरिएको उनले जानकारी दिए।
उनका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन।
अब मौसम बिस्तारै गर्मीतर्फ अघि बढिरहेको वरिष्ठ माैसमविद् पाैडेलले बताए।
आज बिहान पौने ९ बजे लिइएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस छ।
हिजो आइतबार उपत्यकाको अधिकतम तापक्रम १७.९ डिग्री सेल्सियस थियो। ‘आज पनि त्यस्तै १७/१८ डिग्री हाराहारी अधिकतम तापक्रम पुग्ला,’ उनले भने।

प्रतिक्रिया