अस्ट्रेलियाको सिड्नी सहरमा तीन दशकयताकै ठूलो वर्षा भएको छ। जसका कारण आएको बाढीले त्यहाँका हजारौं मानिस विस्थापित भएका छन्।
वर्षा र बाढीका कारण त्यहाँकाे जनजीवन तथा यातायात अस्तव्यस्त भएको छ।
त्यस क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार बितेका ४ दिनमा त्यहाँ झन्डै ४०० मिलिमिटर वर्षा भएकाे छ।
बीबीसीका अनुसार मौसमसम्बन्धी निकायले अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको छ।
वर्षाका कारण झन्डै १ लाख घरमा बिजुली गएको बताइएकाे छ।
यसैबीच वर्षाले एउटा राम्राे कामचाहिँ के गरेकाे छ भने अढाई महिनादेखि न्यु साउथ वेल्स राज्यका विभिन्न स्थानमा फैलिएको डढेलो निभाइदिएको छ।
७४ दिनदेखि स्वालहेवन नगरनजिकै फैलिरहेको करोवान नामक डढेलो वर्षाकाे पानीले निभाइदिएकाे बीबीसीकाे समाचारमा उल्लेख छ।
डढेलोले ५०० हेक्टर क्षेत्रमा प्रभाव पारेर ३ सय १२ वटा घर नष्ट गरेकाे थियाे।
मौसम विभागले डढेलो प्रभावित क्षेत्रमै बाढीको बढी खतरामा रहेकाे चेतावनी दिएकाे छ। तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फोहोर बगाएर ल्याउने विभागकाे अनुमान छ।
सिड्नीमा मात्र कम्तीमा २०० जना मानिसलाई आपत्कालीन सेवाका कर्मचारीले उद्धार गरेका छन्।
सोमबार बिहान त्यहाँको रेल तथा डुङ्गा सेवा अवरुद्ध भएको छ।
सिड्नीको एउटा मुख्य स्टेसन सेन्ट्रलका कैयौँ प्ल्याटफर्म पानीमा डुबेका छन्। दर्जनौँ स्कुल बन्द भएका छन्।
मानिसहरूलाई सकेसम्म घरमै बस्न भनिएको छ।
सहरका तल्ला भूभागमा बसिरहेकाहरूलाई त्यहाँबाट अन्यत्र जान वा जानको निम्ति तम्तयार रहन भनिएको छ।
सेन्ट्रल सिड्नीमा सोमवार पानी रोकिएको छ तर यो साताभरि थप वर्षाको पूर्वानुमान गरिएको बीबीसीले जनाएकाे छ।

प्रतिक्रिया