समाज


दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलन सम्पन्न

दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलन सम्पन्न

नेपालखबर
असार १५, २०७६ आइतबार १३:५९,

दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलन पाल्पा घोषणापत्र जारी गर्दै सकिएको छ। यही असार १३ गतेदेखि आजसम्म तानसेनमा चलेको सम्मेलनले १५ बुँदे पाल्पा घोषणापत्र जारी गरेको हो।

सम्मेलनले नेपाल सकारले संसद्मा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक र सार्वजनिक प्रशारणलगायत आमसञ्चारसँग सम्बन्धित सम्पूर्ण विधेयक दलितमैत्री बनाउन माग गरेको छ। यसका लागि सरकारले दलित समुदायका सञ्चारकर्मी र सरोकारवालासँग छलफल गरेर मात्रै विधेयक अगाडि बढाउन अनुरोध गरेको छ।

संवैधानिक भावनाअनुरुप नेपालका सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यमको संरचनागतस्वरुप र विषयवस्तु (प्रकाशन तथा प्रसारण) को समावेशीकरण सुनिश्चित हुने नीतिगत व्यवस्था गर्न माग गरिएको छ। उक्त घोषणापत्रमा सरकारी सञ्चार संस्थामा नियुक्ति गर्दा दलित समुदायको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था गर्न माग गरिएको हो।

जाति, लिङ्ग र समुदायका आधारमा कुनै पनि पत्रकारमाथि विभेद् गर्न नपाइने व्यवस्थाको सुनिश्चिता गर्न माग गरिएको छ। यसका साथै देशभर छरिएर रहेका दलित समुदायका पत्रकारको भौतिक र पेशागत सुरक्षाको प्रत्याभूतिको सुनिश्चिता हुनुपर्ने घोषणापत्रमा उल्लेख छ। दलित समुदायभित्र पनि दलित महिला पत्रकारको सङ्ख्या अत्यन्तै न्यून मात्रामा रहेकाले उनीहरुको दक्षता र क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएको छ।

दलित समुदायका पत्रकारको नेतृत्वमा सञ्चालित सञ्चार गृहलाई कर छुट तथा अनुदानमा सञ्चार सामग्री प्रदान गर्ने व्यवस्था र स्थानीय तहमा सञ्चालित सञ्चारमाध्यमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न राज्यका सबै तहबाट सहयोग गर्ने व्यवस्था गर्न माग गरिएको छ।

पाल्पाको रिब्दिकोट गाउँपालिका– ४ भैरवस्थानस्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिको उपाध्यक्षमा दलित समुदायको प्रतिनिधित्व हुनुले जातीय विभेद् अन्त्यका लागि सकारात्मक सन्देश प्रवाह भएको र देशभरबाट आएका दलित समुदायका पत्रकारलाई सामूहिक रुपमा मन्दिरमा पूजाअर्चना गर्ने वातावरण सिर्जना गरेकोमा मन्दिर व्यवस्थापन समितिलाई सम्मेलनले धन्यवाद ज्ञापन गरेको नेपाल पत्रकार महासङ्घका सचिव रेम विश्वकर्माले जानकारी गराए।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजना र जिल्ला शाखाको संयोजनमा सम्मेलन गरिएको थियो।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad