ad ad

समाज


आगलागीमा घरसँगै जले छोराछोरी, एक्लै परिन् आमा सरस्वती

आगलागीमा घरसँगै जले छोराछोरी, एक्लै परिन् आमा सरस्वती

तस्बिर : नेपालखबर


दिनेश बुढा
माघ २३, २०८० मंगलबार १७:६, सुर्खेत

मुगुमा आगलागी हुँदा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ। सोमबार बिहान करिब २ बजे घरमा आगलागी हुँदा दाजुबहिनीको जलेर मृत्यु भएको हो। 

आगोले जलेर मृत्यु हुनेमा मुगुको खत्याड गाउँपालिका–२ गाँडेखोलाका दुई दाजुबहिनी १४ वर्षीय विशाल सञ्ज्याल र १२ वर्षीया झरना सञ्ज्याल रहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको जानकारी दिए। 

‘सोमबार बिहान ६ बजेतिर आगलागी भएको र दुई बालबालिका फेला नपरेको भन्ने खबर आएपछि जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यहाँ पुगेर स्थानीयको सहयोगमा खोजी गर्दा प्रहरीले दुईवटा जलेका शरीर भेटेको थियो’, उनले भने।

यस्तै, आगलागीको अघिल्लो दिन मौसम बदली भई पानीसँगै हिमपात भएर मुगुमा चिसो बढेको थियो। चिसो बढेका कारण आमासँगै दाजुबहिनी बेलुकाको खाना खाएर आगो ताप्दै निधाएका थिए। 

छोरा विशाल र छोरी झरनाको मृत्युसँगै आमा ३० वर्षीय सरस्वती सञ्ज्याल एक्लै भएकी छन्। 

आमा सरस्वतीले चिसो भएपछि ताप्न बालेको आगो राति निभाउन भुल्दा घरमा आगलागी भएको प्रहरीले जनाएको छ। 

भान्सा कोठाबाट आगलागी सुरू हुँदा आगलागीबाट घरमा धनसम्पत्ति, पशु चौपाय र खाद्यान्न पूरै क्षति भएको छ। उनका श्रीमान् लालु सञ्ज्याल रोजगारीको शिलशिलामा भारतमा छन्। 

छोरा–छोरीलाई सुताएर आफू पनि सुतेकी थिइन्। तर, घरमा आगलागीपछि सरस्वती भागेर बाँच्न सफल भइन् तर दुई सन्तानलाई बचाउन सकिनन्। 

यस्तै, आगलागीबाट सञ्ज्यलको जस्तापाताले छाएको ३ तलाको ६ कोठे कच्ची घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार आगोले जलेर मृत्यु भएका विशाल र झरनाको शव पहिचान गर्न नसकिएपछि डाक्टरलाई बोलाएर शवको पहिचान गरिएको थियो।

शवको पोष्टमार्टम गरेर आमा सरस्वतीलाई बुझाएर पनि दाहसंस्कार गरिसकेको छ। यस्तै, सरस्वतीका छोरा–छोरीसँगै गोठभित्रका चौपाया पनि आगलागीबाट मरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .