समाज


अधिकृत निराैलाको कार्यालय झापा, घुस ‘बार्गेनिङ’ अमेरिका

अधिकृत निराैलाको कार्यालय झापा, घुस ‘बार्गेनिङ’ अमेरिका

दीपक खरेल
असार १५, २०७६ आइतबार ११:५१,

टीकादेवी अधिकारी अहिले अमेरिकामा छिन्। झापा दमक नगरपालिका–३ बेल्डाँगी शरणार्थी शिविरमा बसोबास गर्ने उनी सन् २००८ मा तेस्रो देश पुर्नवास कार्यक्रम अन्तर्गत अमेरिका पुगेकी हुन्।

बुवाआमा धनपति र डम्बरकुमारी खनाल यतै बेल्डाँगी शिविरमै रहे।

आफ्नो देश छोडेर शरणार्थी जीवन बिताउनुको पीडा छँदै थियो। परिवार छिन्नभिन्न भएपछि आमाबुवा एवं छोरी दुवै पक्षलाई भावनात्मक रुपमा गाह्रो भयो। विछोडको पीडाले दुवैलाई दुःखायो।

बेल्डागी शिविर, सेक्टर डी–२, छाप्रा नं. ३८ मा बसोबास गर्ने खनाल दम्पतीलाई बिरामी हुँदा अस्पताल लैजाने मान्छे समेत भएन। यही पीडा एक दिन धनपतिले छोरीलाई सुनाए।

टीकादेवीको मन भक्कानियो। उनले बुवाआमालाई अमेरिका बोलाउन चाहिन्। उनीहरु पनि जान तयार भए।

तर शरणार्थी जीवन बिताइरहेका उनीहरुको हकमा सामान्य प्रक्रियामा जसरी राहदानी बनाएर भिसा आवेदन गर्न मिल्ने स्थिति थिएन। उनीहरुको प्रक्रिया बेल्डागीस्थित शरणार्थी समन्वय इकाइ (आरसीयु) ले अघि बढ्नु पर्छ। सो कार्यालय गृह मन्त्रालय अन्तर्गतको हो।

यसले शरणार्थी प्रमाणीकरणको प्ररम्भिक कागजात अघि बढाउँछ। खनाल दम्पत्ति आरसीयु कार्यालय पुगे। कार्यालय संयोजक थिए, शाखा अधिकृत यज्ञ निरौला।

आफूसँग भएका दर्ताका कागजात सबै उनलाई देखाए। ‘काम हुन्छ तर केही खर्च गर्नुपर्छ’, भन्ने जवाफ निरौलाले दिए। बुढाबुढी खिस्रिक्क परेर फर्किए। किनभने उनीहरुसँग जति पैसा मागिएको थियो त्यो सानो रकम थिएन।

खनालको पृष्ठभूमिबारे अर्का शरणार्थी राजमान गुरुङ, जो निराैलाको लेनदेनमा समेत सहभागी हुँदै आएका थिए, जानकार थिए। उनले अमेरिका बस्ने छोरीसँग मागेर दिन सुझाव दिए।

२०७५ वैशाखको एउटा बिहान अमेरिका भएकी छोरीको फोन आयो। दुःखी हुँदै उनीहरुले सुनाए, ‘हाम्रो काम हुन्छ रे। ४ लाख तिर्नुपर्छ रे।’

टेलिफोनमा बुवाआमाको मलिन श्वर सुनेपछि टीकादेवीले अधिकृत निरौला र उनका सहयोगी गुरुङको फोन नम्बर मागिन्। अमेरिकाबाट दुवैलाई फोन गरिन्। शरणार्थीको काम हुन पैसा लाग्दैन किन ४ लाख दिने भनेर टीकादेवीले भनिन्। जिल्ला प्रशासनदेखि मन्त्रालयसम्म खुवाउनु पर्ने निराैलाले बताएर पैसा बार्गेनिंग गरे।

४ लाखको डिल भएका खनाल दम्पत्ती र अन्य त्यस्तै १२ जनाको फाइल बोकेर २०७५ साउन पहिलो साता शाखा अधिकृत निरौला काठमाडौं आए। टोलीले गृहको शरणार्थी शाखामा छलफल छलफल गर्यो।  

२०७५ साउन ९ गते गृह मन्त्रालयले खनाल दम्पत्तीसहित १२ जनालाई भुटानी शरणार्थी प्रमाणित गरिदियो। निरौला झापा फर्किए।

तर खनाल दम्पत्तीमाथि सुरक्षा खतरा बढ्यो। अर्थात् पैसा नदिएको भन्दै आरसीयु संयोजक शाखा अधिकृत निरौला र उनका सहयोगी राजमान गुरुङले बिहान–बेलुकै धम्क्याउन थाले। पैसा नदिएसम्म अमेरिकाको प्रक्रिया अघि नबढाइदिने उनीहरुको चेतावनी थियो।

९ महिनासम्म निरन्तर धम्की झेलेपछि २०७६ वैशाख २ गते जिल्ला प्रशासन कार्यालय झापामा धनपतिले उजुरी दर्ता गरे। उजुरीमा भनिएको छ, ‘तपाइँको काम भयो ४ लाख रुपैयाँ देऊ भनेर निरौला र गुरुङले धम्की दिइरहेका छन्। उनीहरूलाइ कारवाही होस्।’

उजुरीबाट नेपाल बसेर अधिकृत निराैलाले अमेरिकामा रहेकी टीकादेवीसँग समेत घुस डिल गरेको प्रस्ट हुन्छ। ‘मसँग कुरा भएको होइन। मेरो अमेरिका बस्ने छोरी टीकादेवीसँग कुराकानी भएको हुँदा उनलाई नै भन्नु म बुढो मान्छेलाई दुःख नदिनु भन्दा निजहरुले तिम्रो छोरीलाई फोन लाग्दैन, उठ्दैन आफैँ कुरा गर्नु भनेर धम्क्याए’, उजुरीमा भनिएको छ। 

ujuri

निरौलाविरुद्ध जिल्ला प्रशासनमा उजुरी गर्ने खनाल एक्ला व्यक्ति होइनन्। उनीविरुद्ध फरक–फरक मितिमा वास्तविक शरणार्थीसँग घुस मागेको एवं दलालहरुसँग मिलेमतो गरी नक्कली भुटानी शरणार्थी दर्ता गरेको उजुरी परेका छन्। शरणार्थीको दर्ता नवीकरण, परिचयपत्र र तेस्रो देश पुर्नवास दर्ताका लागि उनले प्रति फाइल २ देखि ८ लाख रुपैयाँसम्म लिने गरेको उजुरीबाट खुल्छ।

भुटानी शरणार्थीका नाममा पैसा असुल्ने एवं नक्कली शरणार्थी खडा गरी अर्बौंको चलखेल बढेपछि २०७६ जेठ दोस्रो साता गृह सचिव प्रेम राईको निर्देशनमा उपसचिव कृष्ण शर्मा नेतृत्वमा मन्त्रालयको टोली झापा गएको थियो। टोलीले मन्त्रालयमा बुझाएको प्रतिवेदनमा निरौलाका निर्णयहरु सन्देहजनक रहेको उल्लेख छ।

संगठित रुपमा सहयोगी राखेरै पैसा उठाएको एवं मानव तस्करहरुसँग समेत साँठगाँठ देखिएको भन्दै टोलीले निरौलाविरुद्ध विस्तृत छानिबन गर्न सुझाव दिएको छ। सोही सुझावअनुसार यतिबेला गृहको निर्देशनमा झापा जिल्ला प्रशासन कार्यालयलले ८ वर्षसम्म आरसीयु संयोजक भएर बसेका अधिकृत निरौलाका पूर्व निर्णयहरुको छानबिन थालेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन्।

दाहालको दाबीअनुसार प्रमुख प्रशासकीय अधिकृत कृष्णचन्द्र पौडेलको संयोजक्तवमा गठित टोलीले उजुरी एवं अन्य फाइलहरुको अनुसन्धान गरिरहेको छ।

नेपालखबर सम्पर्कमा आएका प्रशासकीय अधिकृत पौडेलले भने अनुसन्धानबारे अनविज्ञता प्रकट गरे। ‘म छोरीको बिहेका लागि विदामा छु। उजुरी परेका छन् तर तीमाथि अनुसन्धान अघि बढेको छैन’, उनले नेपालखबरसँग टेलिफोनमा भने, ‘मन्त्रालयको टोली आएको हो तर उजुरी, अनुसन्धानबारे मलाई जानकारी छैन।’

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनी २५ देखि ३५ लाख रुपैयाँसम्म असुली गर्ने कार्य शाखा अधिकृत निरौलाको संलग्नता कुन हदसम्मको हो भनेर समेत छानबिन गर्न मन्त्रालयले झापा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

८ वर्षसम्म आरसीयु संयोजक

मानव तस्करसँग साँठगाँठदेखि शरणार्थीसँग घुस लिने कार्यमा मुछिएका शाखा अधिकृत यज्ञ निरौलाको दरबन्दी चन्द्रगढीस्थित जिल्ला कारागार झापा र जिप्रका झापा हुँदा समेत उनी नै आरसीयु संयाेजक थिए। उनी २०७५ पुसमा समयोजनमा जानुभन्दा अगाडि निरन्तर ८ वर्षसम्म बेल्डाँगीस्थित शरणार्थी शिविरमा आरसीयु संयोजक भएर बसेका थिए।

निजामती कर्मचारी नियमावलीअनुसार २ वर्षभन्दा बढी एउटै अड्डामा काम गर्न पाइँदैन। कसरी उनी एउटै अड्डामा ८ वर्षसम्म बहाल रहे भन्ने विषय आफैँमा प्रश्नको घेरामा छ।

अहिले उनी दमक नगरपालिका सरुवा भएका छन्।

नेपालखबरसँग कुराकानी गर्दै उनले शरणार्थीसँग रकम लिन सहयोगी भएको भनेर गृहको टोलीले औंल्याएका राजमान गुरुङलाई आफूले चिनेको स्वीकारे। ‘राजमानलाई चिन्छु राम्रै सम्बन्ध छ। उनी पनि शरणार्थी नै हुन् तर रकम लेनदेन भएको छैन’, उनले भने।

शरणार्थी सम्पूर्ण काम आफूले सिडिओको निर्देशनमा गरेको उनको दाबी छ। ‘मैले सिडिओ सापको निर्देशनअनुसार काम गरेको हो। प्रमाणीकरण मैले मात्र गर्ने होइन। सिडिओ सापले सदर गरेका फाइलहरु मन्त्रालय पुग्ने हुन्।’

प्रमाणीकरणको सम्पूर्ण काममा जिल्ला प्रशासन कार्यालय झापा र मन्त्रालय जिम्मेवार रहेको उनको तर्क छ। ‘मैले सिडिओ सापले सदर गरेको फाइल लिएर मन्त्रालय गएको हुँ,’ शाखा अधिकृत निरौलाले भने ‘यसमा युएनएचसिआर र मन्त्रालयको समेत सहभागिता हुन्छ।’

यो पनि पढ्नुहोस्: भुटानी शरणार्थीका नाममा मानव तस्करको डरलाग्दो चलखेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .