ad ad

समाज


प्रधानमन्त्री प्रचण्डले गरे सशस्त्र प्रहरीको प्रशंसा

प्रधानमन्त्री प्रचण्डले गरे सशस्त्र प्रहरीको प्रशंसा

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
माघ ९, २०८० मंगलबार १९:०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन्।

सशस्त्र प्रहरी दिवसको २३ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले देशको सुरक्षा र स्वाभिमानका निम्ति सशस्त्रले पुर्‍याएको योगदानबारे आफू जानकार रहेको उल्लेख गर्दै संगठनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिने बताए।

'सीमा सुरक्षा र व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी बलले अगाडि बढाएका कार्यक्रमले विद्यमान समस्या र चुनौतीहरू सम्बोधन गर्दै देशको स्वाभिमान र सीमा सुरक्षामा गुणात्मक योगदान पुर्‍याउने विश्वास लिएको छु,' उनले भने, 'संगठनले प्रस्ताव गरेका सीमा विकास कार्यक्रमलाई प्रथमिकतामा राखी अगाडि बढाउन सरकार प्रतिबद्ध छ।'

हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता तथा सीमित पूर्वाधारका वावजुद राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित भएर सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूको योगदान महत्त्वपूर्ण योगदान रहेको दाहालले बताए।

सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बललाई श्रोतसाधनको व्यवस्थासहित थप प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए।

सबै प्रकारका जिम्मेवारीहरूमा अदम्य साहस, इमान्दारिता एवम् व्यावसायिकताका साथ सम्पादन गरिरहेको कुरामा जानकार रहेको प्रधानमन्त्रीले बताए। 

'सीमा सुरक्षाका साथै तपाईंहरूले राजस्वमा पुर्‍याउनुभएको योगदान, महत्त्वपूर्ण व्यक्ति तथा संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको जीउधनको सुरक्षा गर्ने कार्यमा पुर्‍याउनुभएको योगदानप्रति सम्मान व्यक्त गर्दछु', उनले भने। 

देशको सुरक्षा र स्वाभिमानका निम्ति दिलोज्यानले क्रियाशील सशस्त्र प्रहरी बलका अधिकृतहरूको वृत्तिविकास एवं प्रोत्साहनमा देखिएका समस्याप्रति आफू जानकार रहेको उनले उल्लेख गरे। 

'मैले सरकारको नेतृत्व गरेपश्चात सकल दर्जाका करिब छ हजार अधिकृत र जवानहरूको पदोन्नतिको प्रक्रिया सम्पन्न भएको छ। साथै बललाई विगतमा प्राप्त गरेको जिम्मेवारीका अतिरिक्त केही नयाँ जिम्मेवारीसमेत प्रदान गरिएको छ', उनले भने। 

प्रधानमन्त्री प्रचण्डले संगठनमा आवद्ध अधिकृत र जवानहरूको वृत्ति विकास, सेवा सुविधा, सुरक्षा, हातहतियार र अन्य लजिष्टिक सामग्रीहरूको उपलब्धता सरकारले उच्च प्राथमिकता दिने बताए।

उनले वार्षिकोत्सवका अवसरमा एपिएफ लाइफ टाइम एचिभमेन्ट अवार्ड, एपिएफ विशेष सम्मान तथा उत्कृष्ट बाहिनी रनिङ्ग ट्रफीबाट सम्मानित हुने व्यक्ति र इकाइलाई बधाई दिए।

प्रचण्ड नेतृृत्वकै १० वर्षे युद्धको बीचमा सशस्त्रको जन्म भएको थियो। सशस्त्रले आफूलाई २३ वर्षको बनाउँदा सीमा सुरक्षादेखि भन्सार चेकजाँच र आन्तरिक सुरक्षामा पनि आफूलाई केन्द्रित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .