यातायात ब्यवसायी र यातायात मजदुर संघ/संगठनहरुले तत्काल ड्राइभिङ स्कुल खोल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग माग गरेका छन्।
सवारी तथा यातायात सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकको मसौदामा छलफल गर्न मन्त्री ज्वालाले सरोकारवाला निकायहरूलाई बोलाएको बैठकमा यस्तो कुरा माग भएको हो।
‘मन्त्रीज्यू, हरेक घरमा सवारी चालक आवश्यक भइसक्यो तर नेपालमा दक्ष ड्राइभर पनि विदेश पलायन हुन थाले। दक्ष चालक पाउन मुस्किल भयो। दक्ष चालकको अभावमा दुर्घटना बढ्न थाले’, ब्यवसायी र मजदुर संगठनका पदाधिकारीहले भने, ‘अब ड्राइभिङ स्कुल वा छुट्टै संस्थाको आवश्यकता भइसक्यो।’
विधेयकको मसौदामा सुझाव दिँदै ब्यवसायी र मजदुर संगठनहरूले ड्राइभिङ स्कुल माग गरेका हुन्। सवारी ऐन २०४९ संशोधन गर्न मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ।
ब्यवसायी र मजदुर संगठनको ड्राभिङ स्कुल खोल्ने प्रस्तावमा मन्त्री ज्वालाले ऐनमा ब्यवस्था गर्ने गरी काम थालेको बताए।
‘ड्राइभिङ स्कुल वा कुनै संस्था स्थापना गर्ने गरी ऐनमा संशोधन गर्नेगरी हामीले तयारी थालेका छौँ’, मन्त्री ज्वालाले भने।
स्वरोजगार यातायात मजदुर संगठन, एकीकृत यातायात मजदुर संगठन, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल मजदुर संघ, नेपाल यातायात मजदुर संघका पदाधिकारीहरु छलफलमा सहभागी थिए।
त्यसैगरी सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ र नेपाल ट्रक यातायात ब्यवसायी महासंघका पदाधिकारहरू पनि सहभागी थिए।
छलफलमा ब्यवसायी र मजदुर संघ-संगठनका पदाधिकारीले फरक फरक सरकारले बनाउने ऐनका कारण ठूलो समस्या झलेको गुनासो गरेका छन्।
संघीय, प्रदेश र स्थानीय सरकारले फरक फरक सवारी ऐन बनाउँदा निकै समस्या परेको गुनासो गर्दै एकरुपता हुने गरी पहल गर्न मन्त्री ज्वालासँग आग्रह गरेका छन्।
जवाफमा मन्त्री ज्वालाले प्रदेश सरकारका यातायात मन्त्री र सचिवहरूसँग छलफल गर्नेगरी ७ गते बैठक राखेको जानकारी दिए। प्रदेश सरकारसँग यसअघि नै तीन पटक बैठक भइसकेको छ।
छलफलमा मन्त्रालयका सचिव केशव शर्माले फरक फरक सरकारमा सवारी दर्ता हुने गरेकाले कति सवारी साधन चलेका छन्, त्यसको अभिलेखसम्म सरकारसँग नभएका बताए। अब बन्ने ऐनमा एकरुपता ल्याउन प्रदेश र सरकारका यातायातमन्त्री र सचिवसँग छलफल गर्न लागेको उनले बताए।
Shares

प्रतिक्रिया