ad ad

समाज


तराई-मधेशमा चिसोले जनजीवन कष्टकर, धनगढीमा एकैदिन न्यूनतम तापक्रम ५.२ डिग्री घट्यो

तराई-मधेशमा चिसोले जनजीवन कष्टकर, धनगढीमा एकैदिन न्यूनतम तापक्रम ५.२ डिग्री घट्यो

फाइल तस्बिर


नेपालखबर
माघ ३, २०८० बुधबार १३:५३, काठमाडौँ

एक सातादेखि राम्ररी घाम नलाग्दा तराई मधेशका जिल्लामा चिसो अत्यधिक बढेको छ। दिनभरी घाम नलाग्दा कठ्यांग्रिँदो चिसोले तराईको जनजीवन कष्टकर बनेको छ।  

आज पनि दिनभरी तराई-मधेशका जिल्लामा राम्ररी घाम लाग्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले बुधबार बिहान पौने नौ बजे सार्वजनिक गरेको मौसम बुलेटिनका अनुसार आज पनि पूर्वी, मध्य र पश्चिम तराईलाई हुस्सु र कुहिरोले ढाकेको छ। 

आज सूदूरपश्चिमको धनगढीमा न्यूनतम तापक्रम पाँच डिग्री सेल्सियस मापन गरिएको छ। यो मंगलबारको भन्दा ५.२ डिग्री कम हो। धनगढीमा एकैदिन ५.२ डिग्री तापक्रम घटेको महाशाखाले जनाएकाे छ। मंगलबार धनगढीको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस थियो। 

धनगढीमा हिजो अधिकतम तापक्रम १७.३ डिग्री पुगेको थियो। धनगढीमा बाक्लो कुहिरो लाग्दा जनजीवन कष्टकर बनेको छ। त्यहाँ आज बिहानको पारदर्शीता एक सय मिटर मात्रै थियो। 

नेपालगञ्जमा आज बिहान न्यूनतम तापक्रम ९.५ डिग्री मापन गरिएको छ। त्यहाँ हिजो अधिकतम तापक्रम आज १६.२ डिग्री पुगेको थियो। नेपालगञ्ज क्षेत्रमा पनि बाक्लो कुहिरो लागेको छ। 

त्यसैगरी भैरहवामा आज बिहानको न्यूनतम तापक्रम ९.२ डिग्री मापन गरिएको छ भने मधेश प्रदेशको सिमरामा न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ। 

त्यसैगरी मधेश प्रदेशको राजधानी जनकपुरमा आज बिहानको न्यूनतम तापक्रम ११ डिग्री सेल्सिय मापन गरिएको छ। त्यहाँ हिजोको अधिकतम तापक्रम १४ डिग्री थियो। 

त्यसैगरी कोशी प्रदेशको राजधानी विराटनगरमा आज बिहान न्यूनतम तापक्रम ११.२ डिग्री मापन गरिएको छ। विराटनगरमा हिजो अधिकतम तापक्रम १३.६ डिग्री पुगेको थियो। विराटनगर क्षेत्रमा पनि विगत केही दिनदेखि बाक्लो कुहिरो लागेको छ। आज बिहान त्यहाँको पारदर्शीता ८ सय मिटर मात्रै थियो।

न्यूनतम र अधिकतम तापक्रमको ग्याप कम हुँदा तराई मधेशका जिल्लामा चिसो अत्यधिक धेरै महसुस भएकाे छ। 

चिसो र शीतलहरले स-साना विद्यार्थी बढी प्रभावित भएपछि तराई मधेशका धेरैजसो स्थानीय तहले सूचना जारी गरेर विद्यालय बिदा गरेका छन्। हाल दिइएको बिदा जाडो र वर्षे बिदाबाट कट्टा हुने गरी व्यवस्था गरिने स्थानीय तहका शिक्षा शाखाहरुले जनाएका छन्।

एक सातादेखि चिसो हावासँगै शीतलहर चल्दा बालबालिका, वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्तिका साथै गरिब, विपन्न र खुल्ला आकाशमुनी काम गर्ने मजदूर वर्ग बढी प्रभावित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .