ad ad

समाज


स-साना दुई छोराले संसार देख्न थालेपछि फर्कियो मीनाको खुसी

स-साना दुई छोराले संसार देख्न थालेपछि फर्कियो मीनाको खुसी

नेपालखबर
पुस २७, २०८० शुक्रबार ७:५७, काठमाडौँ

दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई यतिबेला खुसीको कुनै सीमा छैन। आफूले जन्मदिएका सन्तानले संसार देख्न थालेपछि उनलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ। 

‘भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन्। मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन्। अब मेरा पनि सुखका दिन फर्किए,’ खुसी हुँदै मीनाले भनिन्।

अहिले उनका आठ वर्षीय जेठो छोरा योगेन्द्र र चार वर्षीय कान्छो छोरा प्रकाश विद्यालय जाने तयारी गर्दैछन्। मीनालाई चरम आर्थिक अभाव हुँदा छोराहरुलाई  अस्पताल पु¥याउन त  परै जाओस् बिहान–बेलुका छाक टार्न धौधौ थियो। 

‘बाबुहरुलाई विद्यालय पठाउन त परै जाओस्, उनीहरुले आँखा नदेख्दा घरमा हेरचाह गर्न अर्को सहयोगी राख्नुपर्ने अवस्था थियो,’ उनले भनिन्, ‘छाक टार्न आफैँ कृषि कर्ममा जुट्नु पर्दथ्यो । आफ्नो कमाईले छाक टार्न धौधौ पर्छ ।  उपचार गर्न कहाँबाट पैसा ल्याउनु । उपचार गर्ने पैसा नभएर छोराहरुलाई अस्पताल लान सकेको थिइनँ।’

नेपाल नेत्रज्योति संघले दातृ निकाय सिविएमको आर्थिक सहयोगमा कर्णालीमा सञ्चालन गरेको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्राविधिकले मीनाको दुःख पत्ता लगाएका थिए।  

प्राविधिक सीमाकुमारी शाही लगायतको टोलीद्वारा प्रारम्भिक चरणमा योगेन्द्र र प्रकाशको आँखा परीक्षण गर्दा जन्मजात मोतिबिन्दु भएको पत्ता लागेको थियो।

ती प्राविधिक कर्मचारीले शल्यक्रियामार्फत आँखाको दृष्टि फर्किन सक्ने जनाउँदै सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालमा उपचारका लागि तत्काल जान ‘रिफर’ गरिदिएका थिए । 

मीनाले भनिन्, ‘मैले मेरो दुःखका व्यथा सरहरुलाई सुनाए।  पैसा नभएर छोराहरुलाई उपचार गर्न अस्पताल लान नसकेको  कुराहरु भने। उहाँले सहयोग गर्ने बताउनुभयो। छोराहरुलाई लिएर आँखा अस्पताल गएँ।  चिकित्सकले  जन्मजात मोतिविन्दु भएकाले  शल्यक्रिया गर्नुपर्छ भन्नुभयो।’

अस्पतालले मीनाको आर्थिक अवस्था कमजोर रहेकाले  बिरामीलाई खाने, बस्ने र उपचारका लागि लाग्ने खर्च निःशुल्क गरिदिएको थियो। 

‘चिकित्सकले मेरा दुई छोराको संसार हेर्ने दृष्टि फर्काइदिए। अब मेरा छोरा पनि उज्यालो संसार देख्ने भएका छन्,’ उनले भनिन्।

एक महिनाका अवधिमा दुई दाजुभाइको दुईवटै आँखाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ । शल्यक्रियामा चिकित्सक पवन श्रेष्ठ लगायतका टोली सम्लग्न थिए। 

‘परिवारमा खुसी फर्किएको छ।  आफ्नो छोराहरु पनि अरू बच्चाहरु जस्तै विद्यालय जान सक्ने हुँदा मन रमाएको छ ।  आफ्नो दैनिक गतिविधि अन्यको सहायता बिना गर्न सक्ने भएका छन्। आफ्नो बच्चाहरुलाई उज्यालो संसार देखाएर नयाँ जीवन दिन सहयोग गर्ने सबैलाई धन्यवाद छ,’ उनले भनिन्, ‘भगवान् मैले सोचेजस्तो निष्ठुरी पनि रैनछन्। मेरा छोराहरुलाई उज्यालो संसार देखाइदिनुहुने डाक्टर सापहरुलाई धेरै धेरै धन्यवाद।’

विगतमा उनी छिमेकीका  नानीहरु पढ्न विद्यालय गएका देख्दा, रमाएर खेल्दा आफूलाई भगवानले कुनै जन्ममा गरेको कर्मको सजाय दिएको होला भनेर चित्त बुझाउने गर्थिन्। उनका आफ्नो छोराहरु पनि अरू बच्चा जस्तै पढ्ने, लेख्ने र खेल्ने गरेको हेर्ने ठूलो चाहना थियो।  

आँखा नदेख्दा उनका छोराले घर नजिकको विद्यालयसम्म पनि जान सकेका थिएनन्। 

उनले भनिन्, ‘कलिलै उमेरमा आफूभन्दा २६ वर्ष जेठो व्यक्तिसँग विवाह भयो । गरिबी, त्यसमाथि अमिल्दो उमेरका श्रीमान् हुनुहुन्थ्यो,’ छोराहरु हुर्काउन, घरधन्दा, खेतबारीदेखि वस्तुभाउको स्याहारसुसार गर्नमै मेरा दिनहरु बित्दै गए । बच्चा विस्तारै हुर्किंदै गए । हुर्किंदै जाँदा रोग लागेको पत्तै भएन ।   श्रीमानलाई  बुढ्यौलीले पनि छुँदैगयो । श्रीमान्ले कमाउन नसकेपछि घरबार धान्नेदेखि छाक टार्नेसम्मको जोहो मेरै काँधमा आयो।  उपचार गर्नभन्दा परिवार पाल्न ध्यान दिनै प¥यो।’

सङ्घका पैरवी अधिकृत कृष्ण भट्टराईले सङ्घ अन्तर्गत सञ्चालित आँखा अस्पतालले विपन्न आँखा रोगीको निः शुल्क उपचार भैराखेको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .