समाज


बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

नेपालखबर
पुस १३, २०८० शुक्रबार १९:५, काठमाडौँ

एकजना किशोरीलाई बलात्कार गरेको अभियोगमा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन्। 

पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको अदालतको ठहर छ। किशोरीको उमेर भने १८ वर्ष पुगेको अदालतले मानेको छ। त्यसैले ७ देखि १० वर्षसम्मको कैद हुन सक्ने देखिएको छ।

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा त्यसभन्दा बढी उमेरकी महिला पीडित भए ७ देखि १० वर्षसम्म कैद हुन व्यवस्था छ।

अदालतले कसुर निर्धारणका लागि आगामी पुस २५ गते छुट्टै सुनुवाइ गर्नेछ। उक्त सुनुवाइबाट सन्दीपले कैद सजाय भोग्नुपर्ने अवधि तय हुनेछ।

गौशाला २६ नाम दिइएकी किशोरीलाई काठमाडौँको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको अभियोग लामिछानेलाई लागेको थियो।

गत आइतबारदेखि चलेको बहस शुक्रबार साँझ सकिएसँगै न्यायाधीश ढकालले सन्दीपविरुद्धको अभियोग ठहरिने फैसला सुनाएका हुन्। 

६ दिनसम्म चलेको बहसपछि न्यायाधीश ढकालले शुक्रबार साँझ यो फैसला सुनाएसँगै राष्ट्रिय टोलीका पूर्वकप्तान लामिछानेले कैद बस्नुपर्ने भएको छ।

लाइभ भिडिओ

यस प्रकरणमा सबैभन्दा पेचिलो विषय पीडित भनिएकी किशोरीको उमेर भएको थियो। पीडित पक्षले नाबालिगमाथि बलात्कार भएको दाबी गर्दै आएको  थियो।

उता सन्दीपको पक्षबाट किशोरी नाबालिग नभएका जन्मदर्तासहितका कागजपत्र र अन्य प्रमाण अदालतमा पेश गरेको थियो।

सन्दीपविरुद्ध आफूलाई नाबालिग बताउँदै गौशाला २६ ले जबरजस्ती करणी आरोप लगाएकी थिइन्। 

२०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको आरोप लगाउँदै ती गौशाला २६ ले जाहेरी दिएकी थिइन्।

त्यसपछि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो। 

१८ वर्ष नपुगेकी नाबालिगमाथि करणी गरेको कसूरमा त्यसबेला सन्दीपलाई १२ वर्ष कैद सजाय माग गरिएको थियो। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग उनीमाथि थियो।

उक्त कसुरमा १६ वर्षभन्दा बढी तथा १८ वर्षभन्दा कमकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद हुने उल्लेख छ।

त्यसबेला सन्दीपलाई बढीमा १२ वर्ष कैद सजाय माग गरिएको थियो। 

आफू १७ वर्ष मात्रै भएको दाबीसहित गौशाला २६ नामकी ती किशोरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलको कोठा ३०५ मा बलात्कार गरेको अभियोग लगाएकी थिइन्। उनको जाहेरी सन्दीप विदेशमा रहेकाले गौशाल प्रहरी वृत्तमा दिएकी थिइन्। 

त्यसबेला उनले काठमाडौंबाट नगरकोट लगेर, त्यहाँबाट फर्काएपछि सिनामंगलको होटलमा रातभर राखेर बलात्कार गरेको बयान दिएकी थिइन्।

प्रहरीले पनि २०७९ भदौ ५ गते राति एक होटलको ३०५ नम्बर कोठामा सन्दीपले बलात्कार गरेको अभियोग पत्र सरकारी वकिलमार्फत दर्ता गराएको थियो।

बलात्कार भएको जाहेरी दर्ता गरेपछि प्रहरीले किशोरीको स्वास्थ्य जाँच गरेको थियो। 

जाहेरीपछि प्रहरीले सन्दीपलाई वेस्टइन्डिजबाट अमेरिका हुँदै आउने क्रममा प्रहरीले पक्राउ गरेको थियो।

जाहेरी पर्दा विदेशमा रहेका सन्दीप २०७९ असोज २० गते नेपाल फर्किएका थिए। उनलाई त्रिभुवन विमानस्थलबाटै हत्कडी लगाए हिरासतमा लिइएको थियो। 

त्यसपछि असोज १८ गते जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका सन्दीपलाई उच्च अदालत पाटनले २०७९ पुस २८ गते धरौटीमा छाड्न आदेश दिएको थियो।

उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख धरौटीमा छाड्न आदेश दिए पनि विदेश जान प्रतिवन्ध लगाएको थियो। उच्चको आदेशअनुसार उनी २०७९ पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएका थिए।

उच्चको उक्त आदेशविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए। सन्दीपले धरौटी घटाउन र विदेश जान लागेको प्रतिबन्ध हटाउन माग गरेका थिए। 

पीडित पक्षले भने सन्दीपलाई थुनामै फर्काउन माग गरेको थियो। तर सर्वोच्चले सन्दीलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध सर्तसहित हटाइदिएको थियो।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासले प्रतिबन्ध हटाएसँगै सन्दीपले राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका थिए।

त्यसपछि २०७९ फागुन १५ गते सर्वोच्च अदालतले यो मुद्दा तत्काल टुंग्याउनसमेत जिल्ला अदालतलाई आदेश दिएको थियो। तर सर्वोच्चको आदेशपछि पनि जिल्ला अदालतबाट विभिन्न बहानामा यो मुद्दा टुंगिन एक वर्ष लाग्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .