अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको हत्या भएको छ।
हत्या गरेर फालिएको अवस्थामा धामीको क्षतविच्छद शव घरदेखि पैदल आधा घन्टा टाढा गोठमा फेला परेको हो। धामी कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन्।
धामीको घर पञ्चदेवलको बजारमा पर्छ। शव भने घरदेखि केही टाढा वडा नम्बर २ कै गैरीगाउँको एक गोठमा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख दीपक भारतीले जानकारी दिए।
‘हामी अहिले घटनास्थलमा छौँ। घटनाको प्रकृति मुचुल्का हुँदैछ,’ भारतीले नेपालखबरसँग भने, ‘शव हेर्दा हत्या भएको जस्तो देखिन्छ। अहिले सबै भन्न सक्ने अवस्था छैन। विस्तृत विवरण पछि खुलाउँला।’
हत्या कसले र किन गर्यो खुलेको छैन। कांग्रेस अछामका सहसचिव एवं प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले वडाध्यक्ष धामीको हत्या भएको बताए। ‘हामीले प्रहरीलाई तत्कालै अनुसन्धान थाल्न आग्रह गरेका छौँ,’ उनले भने।
अनुसन्धानका लागि डिएसपी भारतीको नेतृत्वमा प्रहरी टोली बिहानै घटनस्थल पुगेको छ। अनुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुरसहितको टोली मगाइएको प्रहरीले जनाएको छ।
धामीको शव मंगलवार विहान फेला परेको हो। उनको राति नै हत्या भएको आशंका स्थानीयले गरेका छन्।
धामी तत्कालिन नेकपा एमालेका उम्मेदवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भएका थिए। धामी शिक्षक पेशाबाट राजीनामा आएका हुन्।
प्रतिक्रिया