समाज


निसासिएर दम्पतिको मृत्यु : साउना सञ्चालकविरुद्ध कानुनी कारबाही सुरु

निसासिएर दम्पतिको मृत्यु : साउना सञ्चालकविरुद्ध कानुनी कारबाही सुरु

नेपालखबर
माघ २०, २०७६ सोमबार ३:२५,

साउनामा वाफ लिने क्रममा निसासिएर दम्पतिकै मृत्यु भएको घटनामा ललितपुरको तिखेलदेवस्थित फिट एन्ड फाइन एरोबिक फिटनेस क्लबकी सञ्चालकविरुद्ध प्रहरीले कानुनी कार्बाही अघि बढाएकाे छ। 

मृतक हस्त गर्बुजा मगरकी दिदी पौकाकरी पुनले सञ्चालकको लापरबाहीले भाइ-बुहारीको ज्यान गएको भन्दै उजुरी दिएपछि सातदोबाटोस्थित महानगरीय प्रहरी वृत्तले फिटनेस क्लबकी सञ्चालक जुना बस्नेतलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएकाे हो।

गत बुधबार राति उल्लिखित क्लबकाे साउनामा वाफ लिने क्रममा निसासिँदा ४२ वर्षीय हस्त गर्बुजा मगर र उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारीको मृत्यु भएको थियाे। हस्त मगर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव थिए। म्याग्दी स्थायी घर भएका मगर दम्पति पछिल्लो समय ललितपुरमा बस्ने गरेका थिए। उनीहरुका ११ वर्षीय छोरा र १३ वर्षीया छोरी छन्।

‘घटनालगत्तै सञ्चालक बस्नेत हाम्रै निगरानीमा थिइन्,’ सातदोबाटो प्रहरी वृत्तका डीएसपी मित्रबन्धु शर्माले सोमबार बिहान नेपालखबरलाई जानकारी दिए, ‘पीडित पक्षबाट उजुरी आएपछि आइतबारदेखि उनलाई हिरासतमै राखेर कानुनी प्रक्रिया अघि बढाएका छौं।’

डीएसपी शर्माका अनुसार अब उनलाई ज्यानसम्बन्धी लापरबाही मुद्दाअन्तर्गत अदालतबाट म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइनेछ।

nisasiyara mrityu5 1

मृतक हस्तकी दिदी पौकाकरीले प्रहरीमा दिएकाे जाहेरीमा भनिएकाे छ-  ‘सञ्‍चालकको लापरबाहीका कारण निसासिएर नै उक्त घटना घटेको, यसअघि पनि अन्य व्यक्तिहरु उक्त साउना, बाथमा निसासिएका घटनासमेत जानकारी पाएकोले स्वास्थ्य लाभ गर्ने उद्देश्यले सञ्‍चालित उक्त हेल्थ क्लबका सञ्‍चालकहरुको चरम लापरबाहीको कारण उक्त घटना भएकोले सो क्लबका स‍‍ञ्‍चालकहरुलाई कानुनबमोजिम हदै सम्मको सजाय गरी पाउनको लागि यो पुरक जाहेरी दिएकी छु।’

क्लब सञ्‍चालक बस्‍नेतलाई व्यक्तिको जिउज्यान जाने गरी गम्भीर लापरबाही कसुरमा हदैसम्मको सजाय साथै आश्रित बालबालिकाको भविष्य समेतलाई ध्यानमा राखी क्षतिपूर्ति भराउन उजुरीमा माग गरिएको छ।  

साउना सञ्‍चालकले स्टिम वाथ व्यवसायका रुपमा सञ्चालन गरे पनि न्यूनतम पूर्वाधार नभएको, तालिम प्राप्त कर्मचारी नराखिएको, एउटै कर्मचारीलाई धेरै थरी काम जिम्मा लगाएको आरोप पूरक जाहेरीमा लगाइएको छ। साउना वाथमा पालना गर्नुपर्ने नियमको सूचना नराखिएको, कोठाभित्र इमर्जेन्सी घन्टी नराखिएको, बाहिरपट्टि सम्पर्क व्यक्ति नराखिएको आरोप उजुरीमा छन्। 

घटना भएपछि पनि साउना सञ्‍चालकले तत्काल उद्दारको कुनै उपाय नखोजेको, साउनाको कोठाभित्र कति समय बस्‍ने हो भन्‍ने जानकारी पनि ग्राहकलाई जानकारी नगराएको उजुरीकर्ताले उल्लेख गरेकी छन्। साउनासँगै जोडिएको बाथरुममा कार्बन मोनोक्साईड उत्पादन गर्ने ग्यास गिजर राखिएको आरोप पनि उनले लगाएकी छन्। 

याे पनि : ललितपुरमा निसास्सिएर पूर्वमन्त्रीका पीए दम्पतिकै मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .