समाज


‘१४ वर्षको छँदा बा बिते, अहिले छोराछोरी विदेश गए’

‘१४ वर्षको छँदा बा बिते, अहिले छोराछोरी विदेश गए’

वालिङको पेखुमा आयोजित नागरिक सुनुवाइ कार्यक्रम


वासुदेव पौडेल र तोलाकान्त बगाले/रासस
मंसिर २०, २०८० बुधबार २०:१६, गण्डकी

‘म टुहुुरो भएँ, हिजो बा १४ वर्षमा बितेर टुहुरो भएँ, अब छोराछोरी विदेश गएर ’, यो भनाइ स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ पेखुका अगुवा बुद्धिनारायण अर्यालको हो। 

संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजना एवं यूएनडीपी संसद् सहयोग परियोजनाको सहयोगमा वालिङको पेखुमा गरिएको नागरिक सुनुवाइ कार्यक्रममा अर्यालले पछिल्लो समयमा १२ कक्षा पास भएपछि युवा स्वदेशमा बस्ने मनस्थितिमा नहुनु गम्भीर चुनौतीको विषय भएको बताए। 

उनीजस्तै पेखुका सर्वसाधारण सहभागी उक्त सुनुवाइमा जनताका गुनासा सुन्न प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल र प्रदेशसभा सदस्य कल्पना तिवारी उपस्थित थिए। जनताले राज्यलाई यथेष्ट कर तिरे पनि त्यसअनुरुप सेवासुविधा नपाउने गरिएको उल्लेख गर्दै उनले सानोतिनो जागिर यहीँ खाउँभन्दा पनि वातावरण नभएपछि युवा पलायन रोक्न नसकिएको दुःखेसो गरे।

गाउँ गाउँमा बाटो पानीलगायत धेरै समस्या भए पनि त्यसको समाधान नहुँदा बस्ती दिनानुदिन उजाड बन्दै गएको उनको भनाइ छ। वर्षौंदेखि सुरु गरिएका बाटो अहिले पनि राम्रो बन्न नसकेकोप्रति उनले प्रश्न गरे।

वालिङ–१४ देउरालीकी उषाकुमारी सार्की नागरिक सुनुवाइमा आफ्ना कुरा राख्ने भनेर आधा मेलो छाडेर आएकी थिइन्। गाउँमा आफूले जिताएर पठाएका नेता आउने र त्यहाँ आफ्ना पीरमर्का, गुनासा सुनाउन थाहा पाएपछि उषाजस्तै गाउँघरबाट अन्य बासिन्दा पनि मेलापात र घरको काम छाडेर सुनुवाइमा उपस्थित थिए।

आफूहरू बाटो र पानीका कारण लामो समयदेखि समस्यामा परिरहेको बताउँदै उनले राजनीतिक दलका नेताहरूबाट पटकपटक आश्वासन पाउने गरे पनि समस्या ज्यूकात्यूँ रहेको सुनाइन्। समस्या सुनाउन पाउने सभा तथा बैठकमा घरका काम नै छाडेर आई आफूले सुनाउने गरेको उनले बताइन्। ‘अब कुरा होइन, बाटो र पानी दिनुस्’, उनले भनिन्। 

उनका अनुसार १४ घर दलित समुदाय बस्दै आएको देउरालीमा अझै मोटर बाटो पुगेको छैन। साथै वर्षौंदेखि खानेपानीको अभावमा जनजीवन कष्टकर बनेको छ।

‘हामी काम गरेर खाने सोझा र सिधा गाउँले हौँ, आज पनि काम गर्दा गर्दै मेलो छाडेर आएका छौँ, आजको दिनको रु चार सय गुम्यो’, उनले भनिन्, ‘हजुरहरुले हाम्रा समस्या बुझेर समाधान गर्न सक्नुहुन्छ भने गर्दिनुस्, नत्र भने हामीलाई झुक्याउन नआउनुस्।’

उषा कुमारीले गाउँमा खानेपानी छैन, कहाँ डुबिल्को (पानीको कुवा) छ भनेर खोज्दै हिँड्नुपर्छ भन्दै गर्दा उपस्थित सर्वसाधारणले होस्टेमा हैँसे मिलाए। यो समस्या उषाको मात्रै नभई गाउँले सबैको थियो। उनले आफ्नो दुःख-पीडा सुनाउँदा त्यो सबैको सामूहिक विषय बन्यो। 

उषा कुमारीजस्तै अर्की स्थानीय गोमा श्रेष्ठले पनि वालिङदेखि शिरकोटसम्मको बाटोको निर्माण कार्यलाई चाँडो सकेर गाउँमा भएको पानीको विकराल समस्या यथासक्य चाँडो समाधान गर्न प्रदेशसभा सदस्यहरूको ध्यानाकर्षण गराइन्। जनताले अब कुरामा नभई काममा मात्रै विश्वास गर्ने अवस्थामा पुगेको बताउने अर्की स्थानीय जौमाया पौडेलले भनिन्, ‘सधैँ बन्छ र हुन्छ मात्रै सुनियो, तर काम भएन, अब गर्न सक्नुहुन्छ गरिदिनोस् नभए आशा नदेखाउनुहोस्।’

अर्का स्थानीय मेघनाथ पौडेलले गाउँलाई मानिसले माया मान्न छाडेको जिकिर गरे। विकास गर्दा गाउँलेलाई माया मान्ने र गाउँलेले पनि गाउँलाई माया मान्ने वातावरण नबन्दासम्म नेपालको विकास हुने अवस्था नदेखेको उनले बताए। आफूले लामो समय यही क्षेत्रमा कृषि पेसा गरेर बिताएको उनले अनुभव सुनाए। 

गाउँमा युवा रहने गरी युवालक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उनले भने, ‘मैले ३०/४० वर्षको युवालाई विदेश नजा यहीँ बस भनेर धेरै बोलेँ, कतिलाई रोकेर राखियो, तर आज ३५ वर्षको युवालाई गाउँमा देखेँ एक मिनेट पनि गाउँमा नबस् भन्न थालेको छु, भनेर केही अर्थै भएन।’

गाउँका विद्यालय, स्वास्थ्य चौकीलगायत अत्यावश्यकीय पूर्वाधारलाई गुणस्तरीय एवं सुविधासम्पन्न बनाउनुपर्नेमा उनले जोड दिए। वर्षौंदेखि खनिएको गोरेटो अहिले पनि जस्ताको त्यस्तै रहँदा जनतामा निराशा छाएको उनले बताए।

नागरिक सुनुवाइमा स्थानीय सुरज श्रेष्ठ, विष्णु खवास, खगेन्द्र कुँवर, इन्द्रप्रसाद श्रेष्ठ, राजेन्द्र खाण, कृष्ण डुम्रेलगायतले वर्षाै‌ंदेखि बन्न नसकेको बाटोकै कारण गत स्थानीय निर्वाचनमा भएको अकल्पनीय दुर्घटना र त्यसबाट सिर्जित समस्याका विषयमा ध्यानकर्षण गराए।

वालिङ–१४ का वडाध्यक्ष बोधराज कुँवरले वडास्तरबाट हुने र गर्न सकिने कामका लागि आउने जोकोहीलाई खाली नफर्काएको बताए। खानेपानी तथा सडकका सम्बन्धमा सकिने काम वडाबाटै र नसकिने कामका लागि प्रदेश तथा सङ्घ सरकारसँग पुगिएको उनको भनाइ छ। 

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति अर्यालले २०५४ सालमा आफू स्वयं स्थानीय तहको नेतृत्वमा हुँदा खनिएको बाटो हालसम्म पनि राम्रो बन्न नसक्नुले प्रश्न खडा गरेको बताउँदै प्रदेशसभाको यस कार्याकालयमा बाटो सम्पन्न गर्नेगरी सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे।

प्रदेशसभा सदस्य कल्पना तिवारीले नागरिक सुनावाइका क्रममा सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत विषयमा उठेका समस्या समाधान गर्नेतर्फ लाग्ने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad