ad ad

समाज


महानगरले तोकेको स्टलबाट बिकेनन् फूल, व्यापारी भन्छन्– घर फर्कने भाडासम्म छैन

‘ठाउँ तोकिनु राम्रो हो, १५ दिनअघि विज्ञापन नहुँदा मर्का पर्‍यो’
महानगरले तोकेको स्टलबाट बिकेनन् फूल, व्यापारी भन्छन्– घर फर्कने भाडासम्म छैन

काठमाडौं भृकुटीमण्डपमा तिहारका लागि बिक्री गर्न राखेको सयपत्री फूलका मालाहरु खरिद गर्दै उपभोक्ता। तस्बिर : हरिराम भेटुवाल/रासस


नेपालखबर
कात्तिक २७, २०८० सोमबार १६:२, काठमाडौँ

काठमाडौं महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरूले दुखेको पोखेका छन्।

महानगरले काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीको लागि स्थान तोकेर सो स्थानहरूबाट फूल बिक्री भइरहेको छ। तर सो स्थानमा फूल बिक्री गरिरहेका किसानहरूले भने समयमै प्रचारप्रसार हुन नसक्दा फूल बिक्रीमा गिरावट आएको बताएका छन्।

भृकुटीमण्डपका फूल व्यापारीहरूले निश्चित ठाउँ तोकेर बिक्री गर्नु राम्रो भएपनि ठाउँबारे समयमै प्रचार हुन नसक्दा सोचेअनुरुप बिक्री हुन नसकेको बताएका हुन्।

फूल व्यापारीमध्येका मंगेश लिम्बूले आफूहरू मर्कामा परेको बताउँदै फुटपाथमा राख्नुभन्दा यहाँ व्यवस्थापन गर्नु राम्रो भएपनि विज्ञापनमा ढिलाइ गर्नाले समस्या भएको उनले बताए।

‘निश्चित ठाउँ तोकिनु अत्यन्तै राम्रो। विज्ञापन १५ दिन अघि गरेको भए व्यापारी र किसानहरूलाई मार्का पर्ने थिएन। जानकारी भएको भए फूल किन्न आउनुहुन्थ्यो। यहाँ राख्नु धेरै राम्रो तर विज्ञापन गर्न ढिलाइ भयो। बाहिर फुटपाथमा राख्नु भन्दा यसरी व्यवस्थापन गरेकै राम्रो,’ उनले भने।

काठमाडौ महानगरपालिका– १६ स्थित बालाजु बाईपासमा तिहारका लागि सडक छेउमा तिहारका लागि फूल माला बिक्री गर्ने बसेका व्यवसायी। तस्बिर: हरिराम भेटुवाल/रासस

त्यस्तै, काभ्रे कोशिपारीबाट फूल बेच्न भृकुटीमण्डप आएका व्यापारी सुजन श्रेष्ठले भृकुटीमण्डप कोल्टे ठाउँ भएकाले फूल बेच्न ग्राहक नआएको दुखेसो गरे। उनले गाउँबाट फूल ल्याएर व्यापार गर्दा भाडा समेत नउठेको गुनासो गरे। 

‘भृकुटीमण्डप कोल्टे ठाउँ भएकोले फूल बेच्न पाएनौँ। ग्राहक आएनन्। गाडी भाडासम्म उठेन। घर जानलाई गाडी भाडासम्म छैन। उल्टै ऋण गरेर जानुपर्ने भयो। यहाँ राखेर महानगरपालिकाले धेरै नराम्रो गर्‍यो जस्तो लाग्छ,’ उनले भने।

त्यस्तै, ओखलढुंगाबाट फूल व्यापार गर्न आएका तेजेन्द्र बिष्टले नेपाली उत्पादनको फूललाई अपहेलना गरिएको दुःखेसो गरे। उनले अझैपनि बजारीकरणको समस्या भएकाले व्यापारीले फूल खोलामा फालेर हिँड्नुपर्ने स्थिति आएको बताए।

‘किसानले फूल खोलामा फालेर हिँड्नुपरेको। नेपाली उत्पादनलाई अपहेलना गरिएको छ। नेपाली उत्पादन सम्भावनाभित्र नरहेको। सरकारको ध्यान जानु आवश्यकता छ। उत्पादन भएको बजारिकणको समस्या भएकोले किसानको दुःखदायी अवस्थामा भएको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .