समाज


बाफ लिन पसेका दम्पति दुई घण्टा निस्केनन्, ढोका फोड्दा बेहोस् भेटिए

बाफ लिन पसेका दम्पति दुई घण्टा निस्केनन्, ढोका फोड्दा बेहोस् भेटिए

यज्ञराज जोशी
माघ १६, २०७६ बिहिबार ९:५०,

हस्त गर्बुजा मगरले बुधबार दिउँसै साउना लिने भन्दै पटकपटक ललितपुरको विशाल चोक, नखिपोटस्थित फिट एन्ड फाइन एरोबिक फिटनेसकी सञ्चालक जुना राईलाई फोन गरेका थिए। तर, उपचारका क्रममा अस्पतालमा रहेकी राईले मोबाइल अफ गरेकी थिइन्।

फोन नलागेपछि गर्बुजा एक–डेढ घण्टापछि फिटनेसमै पुगे। त्यतिबेला राईपनि अस्पतालबाट ठिक्क त्यहाँ आइपुगेकी थिइन्।

‘म पुग्नेबित्तिकै हस्त दाइले त्यहाँ ‘तिमीहरुको फोनै लाग्दैन। साउना तताइदिन भनेर कतिपटक फोन गरेको’ भन्नुभयो,’ राईले भनिन्, ‘मैले अस्पतालमा भएकाले मोबाइल अफ गरेको बताएँ। अनि साउना तताइदिनु, म श्रीमतीलाई लिएर आउँछु भनेर जानुभयो।’

राईले रिसेप्सनकी बहिनीलाई साउना तताइदिन भनिन्। नखिपोटमै बस्ने गर्बुजा र उनकी पत्नी नेत्रकुमारी साँझ ६ः४५ तिर आए र साउना पसे।

गर्बुजा सो फिटनेस सेन्टरका नियमित ग्राहक थिए। साउना गर्थे र जान्थे। त्यसैले राईले उनलाई साउना प्रयोगबारे बताइरहनुपर्ने आवश्यकता देखिनन्।

‘उहाँ धेरैपटक आउनुभएको थियो। आफैँ सकेर निस्किनुहुन्थ्यो। धेरैपटक साउना गरेर गएकाले केही भन्नुपर्छ जस्तो लागेन,’ राई भन्छिन्।

‘साउनामा प्रवेश गर्ने मान्छेले अनिवार्य रुपमा पंखा चलाउनुपर्छ। पानीपनि सँगै लिएर जानुपर्छ। बेलाबेला पानी खानुपर्छ। गाह्रो अप्ठारो परे ५–१० मिनेटमा बाहिर निस्कँदै पस्ने गर्नुपर्छ,’ राईले साउना प्रयोग गर्दा ध्यान दिनुुपर्ने कुरा बताइन्। रक्तचाप कम भएको मान्छेलाई आफूहरुले साउना प्रयोग नगर्न सुझाउने गरेको उनले बताइन्।

साँझ ६:४५ तिर साउना पसेका दुवैजना ८:४५ सम्म पनि ननिस्केपछि रिसेप्सनकी कर्मचारीको मनमा चिसो पस्यो। उनले राईलाई दुईघण्टासम्म पनि गर्बुजा दम्पत्ती बाहिर ननिस्किएको जानकारी गराइन्। राईले ढोका ढक्ढक्याउन र बोलाउन अह्राइन्।

‘रिसेप्सनकी बहिनीले बोलाउँदा पनि नबोलेपछि हामी दुवै माथि गयौँ र ढोका ढक्ढक्यायौं। तर, कुनै जवाफ आएन,’ राईले भनिन्, ‘त्यसपछि बहिनीले ढोकामा लात्तीले हानिन्। दुई पटक हानेपछि चुकुल निस्कियो। भित्र हेर्दा त उहाँहरु बाथरुममा अचेत अवस्थामा हुनुहुन्थ्यो।’

लगत्तै जुनाले महानगरीय प्रहरी परिसर ललितपुरमा फोन गरेर घटना विवरण बताइन्। परिसरका वरिष्ठ प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार प्रहरी आधा घण्टापछि त्यहाँ पुगेको थियो।

‘उहाँहरुलाई बेहोस अवस्थामा देखेपछि हामीले पाटन अस्पताल ल्यायौं। त्यहाँ डाक्टरले १५ मिनेटसम्म बचाउने प्रयास गरेपछि निधन भएको घोषणा गर्नुभयो,’ प्रहरी उपरीक्षक राईले भने, ‘अहिले पोस्टमार्टमका लागि फरेन्सिक ल्याबमा पठाइएको छ। हिट बढी भएर अक्सिजन कम भएकाले घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।’

सञ्चालक राईका अनुसार दुवै मृतक बाथरुममा बेहोस भेटिएका थिए। उनीहरु साउना र साउनाको पंखा अफ गरेर निस्केका थिए।

मृतक गर्बुजा पूर्व महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाका स्वकीय सचिव हुन्। गर्बुजाले आफूलाई धेरै ठूलो सहयोग गरेको थापाले बताइन्।

‘उनी साह्रै राम्रा मान्छे थिए। सबै क्षेत्रमा राम्रो भूमिका निर्वाह गर्न सक्ने थिए,’ नेपालखबरसँग थापाले भनिन्, ‘राम्रो मान्छेलाई छिट्टै गुमाउनुपर्‍यो। मेरो हरेक दुःख र सुखमा साथ दिएका थिए। म एकदमै दुःखी छु।’

मन्त्री पदबाट फिर्ता भएपनि थापाले गर्बुजालाई नै स्वकीय सचिव राखेकी थिइन्। नाताले गर्बुजा थापाका भदै हुन्। गर्जुबा दम्पत्तीका एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .