समाज


निर्मला हत्या प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत

निर्मला हत्या प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत

शेरबहादुर सिंह
माघ १६, २०७६ बिहिबार २:२४,

कञ्चनपुरको भीमदत्तनगरपालिका-२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र पछिल्लो समय प्रहरी महानिरीक्षको सचिवालयको टोली पनि अनुसन्धानमा संलग्न छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायब उपरीक्षक छोटो समयमै धेरै परिर्वतन हुने क्रम देखिएको छ।

शुरुआतको समयमा अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक (हाल निलम्बित) एकीन्द्र खड्का खटिएका थिए।

निर्मलालाई न्याय माग गर्दै आन्दोलन चर्किएपछि खड्कासहित सात प्रहरी निलम्बितमा परे। गृहमन्त्रालयले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र तत्कालीन वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदिश भट्टलाई घटनाको केही महिनापछि सेवाबाटै बर्खास्त गरिदिएको थियो।

निर्मला प्रकरणमा डेढ वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयबाट चार अनुसन्धान अधिकृत परिवर्तन भइसकेका छन्। शुरुका अनुसन्धान अधिकृत खड्का निलम्बनमा परेपछि प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले कार्यभार सम्हाले। उनीपछि सरुवा भइ आएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले सो प्रकरणको अध्ययन गर्दैैगर्दा इलाका प्रहरी कार्यालय अत्तरिया काज सरुवा भयो।

यसपछिका प्रहरी नायब उपरीक्षक गणेश बम पनि थोरै समय जिल्ला प्रहरीमा बसेर जिल्ला प्रहरी कार्यालय बझाङको प्रमुख भएर सरुवा भएका छन्।

प्रहरी निकट स्रोतका अनुसार केही दिनअघि मात्रै निर्मला प्रकरणको अनुसन्धान अधिकृतमा खटिएका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दको पनि प्रदेश नं ५ को दङ्गा नियन्त्रण गणमा काज सरुवा भएको छ। उनी पनि केही महिनाअघि मात्रै जिल्ला प्रहरी कार्यालय आएका थिए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले भने प्रहरी नायब उपरीक्षक चन्दको काज सरुवा नभएको बताए। ‘उहाँ उपचारका लागि बिदा जानुभएको हो’, प्रहरी नायब उपरीक्षक पौडेलले भने।

प्रहरी स्रोतका अनुसार घटनाको अनुसन्धानकै लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयबाट केही दिनअघि मात्रै प्रहरी नायब उपरीक्षक गौतम केसीसहित प्रहरी अधिकृत भीमदत्तनगर पुगेर अुनसन्धानमा सक्रिय भएका छन्। यो प्रकरणपछि दुई जना जिल्ला प्रहरी कार्यालय प्रमुखको पनि सरुवा भइसकेको छ।

विसं २०७५ भदौ ४ गते सार्वजनिक हत्या अभियुक्त भन्दै सार्वजनिक गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका-१९ बागफाँटाका मानसिक अवस्था ठीक नभएका दिलीपसिंह विष्टलाई प्रहरीले पुनः गहन अनुसन्धान घेरामा राखेको छ।

पक्राउ परेको केही सातापछि अभियुक्त भनी सार्वजनिक गरिएका विष्टको डिएन नमिलेपछि सरकारी वकिल कार्यालयबाट साधारण तारेखमा रिहा भएका थिए।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवनप्रसाद रिजाल नेतृत्वमा गठित छानबिन समितिले डिएनएको नमूना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्ष चार महिनाअघि गृहमन्त्रालयलाई दिएको थियो।

डिएनए परीक्षणमै त्रुटि भएको ठहर भएपछि परिस्थिति प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाइरहँदा शङ्काको सुई फेरि यसअघि सार्वजनिक गरिएका विष्टमाथि सोझिएको हो।

झण्डै दुई महिनायता प्रहरीको टोलीले दिलीपसिंह विष्टलाई नै अभियुक्त बनाएर अभियोजन सरकार वकिल कार्यालय कञ्चनपुर लैजान चाहे पनि बाह्य परिस्थितिले रोकिएको प्रहरी स्रोतको भनाइ छ।

‘भिडियो क्लिपकै आधारमा दिलीपलाई पक्राउ गरेर प्रक्रिया अघि बढाउन सकिन्न भन्ने सरकारी वकिलको जवाफपछि प्रहरी पछि हटेको हो,’ प्रहरी स्रोतले भन्यो, ‘दिलीप पक्राउ गर्न केन्द्रबाटै दबाब पनि छ।’

गत भदौ तेस्रो साता निर्मलाका आमा दुर्गादेवी पन्तले पनि दिलीपसिंह विष्टको नाममा किटानी जाहेरी दिए पनि सुनुवाइ भएको छैन।

यसअघिकै जसरी सरकारी वकिलले विष्टलाई प्रमाण नपुगेको भन्दै छाडेपछिको अवस्था के हुने भन्ने चिन्ता अनुसन्धानमा खटिएका प्रहरी अधिकृत वृत्तमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad