ad ad

समाज


बारामा प्रिन्सिपलको हत्या प्रकरण : पूर्वशिक्षिकासहित ६ जना पक्राउ, ३ भारतीय

बारामा प्रिन्सिपलको हत्या प्रकरण : पूर्वशिक्षिकासहित ६ जना पक्राउ, ३ भारतीय

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १०:३८, काठमाडौँ

बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ (स्वर्णकार) को हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।

सोमबार दिउँसो स्वर्णकारको हत्या लगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। गएराति एक महिलासहित थप तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। 

बाराका प्रहरी प्रवक्ता समेत रहेका डीएसपी दधिराम न्यौपानेका अनुसार पक्राउ पर्नेमा तीन जना नेपाली र तीन जना भारतीय नागरिक छन्। पक्राउ पर्ने महिला नेपाली हुन्। पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन। 

‘अहिले नै सबै कुरा भन्न मिल्दैन। हामी अहिले अनुसन्धानकै क्रममा छौँ,’ एसपी काफ्ले नेपालखबरसँग भने, ‘व्यक्तिगत आचरण व्यवहारको कारणले घटना भएको देखिन्छ। यसमा व्यक्तिगत रिसइबी देखिँदैन। थप अनुन्सधानपछि हामी पत्रकार सम्मेलन गरेर घटनाको सम्पूर्ण विवरण सार्वजनिक गर्ने छौँ।’

घटनामा अन्य केही व्यक्तिकोसमेत संलग्न रहेको आशंका प्रहरीले गरेको छ। ‘उनीहरुलाई पनि हामी पक्राउ गर्दैछौँ। त्यसपछि पत्रकार सम्मेलन गरेर घटना विवरण सार्वजनिक गर्ने छौँ,’ एसपी काफ्लेले भने। 

पक्राउ पर्ने महिला हत्या गरिएका प्रिन्सिपलकै विद्यालयमा काम गर्ने पूर्व शिक्षिका हुन्। 

सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले स्वर्णकारमाथि कलैया–६ मदर्शा टोलमा गोली प्रहार गरेका थिए। 

टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा  वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो।

हत्या गरिएका स्वर्णकार सुनचाँदी व्यवसायीसमेत हुन्। उनले निजी विद्यालयसँगै कलैयामा सुनचाँदी पसलसमेत सञ्चालन गर्दै आएका प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .