प्रहरीले आफ्नै साथीको हत्याको अभियोगमा फरार रहेका एक अभियुक्तलाई चार वर्षपछि पक्राउ गरेको छ।
सँगै काम गर्ने साथीको हत्याको अभियोगमा प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय फिरोज मिया राईनलाई बुधबार काठमाडौँको कीर्तिपुर नगरपालिका २ देवढोकाबाट पक्राउ गरेको हो।
फिरोजले २०७२ माघ २९ गते ललितपुरको घोबिघाटस्थित जयप्रकाश अग्रवालको निर्माणधीन घरमा कुरुवा बसेको अवस्थामा वीरगञ्ज महानगर १५ का ३० वर्षीय सुरेश कुमार साह कानुको हत्या गरेका थिए। सँगै काम गर्ने उनीहरुबीच भएको सामान्य विवादमा फिरोजले मापासे गरी ईट्टा र रड प्रहार गरी कानुको हत्या गरेको र हत्यापछि भारत फरार भएको प्रहरीले जनाएको छ।
केही समय अगाडि फिरोज काठमाडौँ आएको विशेष सूचनका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको विशेष टोलीले उनलाई बुधबार पक्राउ गरेको हो।
ब्युरोले पक्राउ परेका फिरोजमाथि आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउनका लागि आजै जिल्ला प्रहरी कार्यालय ललितपुर पठाएको जनाएको छ।

प्रतिक्रिया