नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। यसको अर्थ पहाडी भेगमा कतै कतै बादल भए पनि देशका अधिकांश स्थानमा घाम देखिएको छ।
महाशाखाको बुलेटिनअनुसार दिउँसो देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
यस क्रममा दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार एक/दुई स्थानमा वर्षाको सम्भावना देखिनु भनेको पानी पर्ने सम्भावना निकै कम हुनु हो।
यस्तै आज राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
Shares

प्रतिक्रिया