ad ad

समाज


मनसुन बाहिरिँदै गर्दा चिसो बढ्न थालेको हो?

मनसुन बाहिरिँदै गर्दा चिसो बढ्न थालेको हो?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असोज २७, २०८० शनिबार ७:४०, काठमाडौँ

हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

यस क्रममा दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। 

यस क्रममा राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

चिसो बढ्न थालेको हो? 
नेपालका धेरैजसो स्थानबाट मनसुन बाहिरिएसँगै वर्षा हुने क्रम ह्वात्तै घटेको छ। बरु काठमाडौँ उपत्यकालगायत स्थानमा बिहान–बेलुका चिसो महसुस हुन थालेको छ। 

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार बिस्तारै चिसो घट्ने क्रम सुरु भएको छ। 

‘कतै-कतै तापक्रम केही घटेको तथा चिसो महसुस हुन थालेको देखिन्छ’, उनले भनिन्, ‘तर पनि अहिल्यै उल्लेख्य मात्रामा तापक्रम घटेको छैन, घट्ने/बढ्ने क्रम चलिरहेको छ।’

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६.२ डिग्री सेल्सियस देखिएको माैसमविद् नगरकोटीले जानकारी दिइन्। तर आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ आउने जानकारी पनि उनले दिइन्। तर अहिलेको तापक्रममा धरै तलमाथि भने हुँदैन। 

यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २६ देखि २८ डिग्रीसम्म पुग्ने अनुमान गरिएको माैसमविद् नगरकोटीले जानकारी दिइन्। 

मनसुन थप स्थानबाट बाहिरिने 
मौसमविद्का अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिइसकेको मनसुन लुम्बिनी प्रदेशको अधिकांश स्थान र गण्डकी प्रदेशको पश्चिम भागबाट पनि हटिसकेको छ। 

अब मनसुन गण्डकी प्रदेशको पूर्वी भाग, बागमती, मधेश र कोशी प्रदेशमा मात्र बाँकी छ।

‘अब थप स्थानबाट पनि मनसुन बाहिरिने क्रममा छ’, मौसमविद् नगरकोटीले भनिन्, ‘यस विषयमा हामी चाँडै बुलेटिन जारी गर्दै छौँ।’

गत जुन १४ तारिख (जेठ ३१ गते) पूर्वबाट प्रवेश गरी देशभर फैलिएको मनसुन पश्चिमबाट क्रमशः हट्दै पूर्वैबाट बाहिरिन्छ। 

मनसुन बाहिरिएपछि वर्षायाम सकिएको मानिन्छ।

यसपछिको सिजनलाई पोस्ट मनसुन भनिन्छ। पोस्ट मनसुनको अवधि अक्टोबर र नोभेम्बरसम्म रहन्छ। 

मौसमविद्का अनुसार पोस्ट मनसुन लागेपछि हिमाली भेगमा हिमपात हुन सुरु हुन्छ। तर धेरै हुँदैन। पोस्ट मनसुनलाई पर्यटकीय मौसम पनि भनिन्छ।

डिसेम्बरदेखि विन्टर (हिउँद) सुरु हुने मौसमविद् बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .