ad ad

समाज


नेपाल प्रवेश गर्‍यो पश्चिमी वायु

नेपाल प्रवेश गर्‍यो पश्चिमी वायु

फाइल तस्बिर


नेपालखबर
असोज २३, २०८० मंगलबार ७:३६, काठमाडौँ

मनसुन अर्थात् पूर्वीय वायु नेपालबाट क्रमशः बाहिरिँदै गर्दा पश्चिमी वायु बिस्तारै सक्रिय हुन थालेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन बाहिरिएपछि देशको पश्चिमी भागमा पश्चिमी वायुको प्रवेश सुरु भएको हो। 

उनका अनुसार पूर्वबाट प्रवेश गर्ने भएकाले मनसुनलाई पूर्वीय वायु तथा पश्चिमबाट भित्रिने वायुलाई पश्चिमी वायु भनिन्छ। 

‘नेपालको पश्चिमी भागमा पश्चिमी वायुको सामान्य प्रभाव सुरु भएको छ’, मौसमविद् कँडेलले भनिन्, ‘अहिले पश्चिमी वायु त्यस्तो धेरै सक्रिय रूपमा आएको होइन, यसले पश्चिमी क्षेत्रमा सामान्य वर्षासम्म गराउनसक्छ।’

उनका अनुसार मनसुन पूरै नेपालबाट हटेपछि सशक्त रूपमा प्रवेश गर्ने पश्चिमी वायुले भने हिमाली भेग र आसपासका पहाडमा हिमपात गराउँछ। ‘पश्चिमी वायुले खासगरी चिसो लिएर आउँछ’, मौसमविद् कँडेलले भनिन्। 

हाल सुदूरपश्चिम प्रदेशको पूरै क्षेत्र, कर्णालीका अधिकांश स्थान र लुम्बिनी प्रदेशको पश्चिमी भागबाट मात्र मनसुन हटेको छ। त्यसयतादेखि पूर्वसम्म अझै मनसुन वायुको प्रभाव रहेको मौसमविद् कँडेलले जानकारी दिइन्।

मौसम महाशाखाका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायु र पश्चिमी भागमा पश्चिमी वायुको आंशिक प्रभाव छ।

‘यो हप्ताभित्र नेपालका थप स्थानबाट पनि मनसुन बाहिरिने अनुमान गरेका छौँ,’ मौसमविद् कँडेलले भनिन्। 

आज वर्षाको सम्भावना कहाँ-कहाँ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाको बिहानी बुलेटिनअनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

यस क्रममा कोशी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .