समाज


कोरोना भाइरसको परीक्षण नेपालमै, निःशुल्क उपचार गरिने

कोरोना भाइरसको परीक्षण नेपालमै, निःशुल्क उपचार गरिने

यज्ञराज जोशी
माघ १२, २०७६ आइतबार ९:५८,

सरकारले नोवेल कोरोना भाइरस संक्रमणको परीक्षण नेपालमै गर्ने तयारी थालेको छ। कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरुको उपचार समेत निशुल्क हुने भएको छ।

कोरोना भाइरस लागेको आशंका गरिएका बिरामीहरुको ल्याब परीक्षण नेपालमै हुने व्यवस्था गरिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। शंकास्पद व्यक्तिको उपचार सरकारले निःशुल्क गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिए।

‘शंकास्पदहरुको ल्याब परीक्षण एकहप्ताभित्र नेपालमै हुनेगरी तयारी थालेका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘आवश्यक उपकरण दिल्ली लगायतका ठाउँबाट मगाएका छौं। ल्याब परीक्षण तथा उपचार सरकारले निःशुल्क गर्ने तयारी गरेको छ।’

पुस २८ गते ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्याका कारण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका एक बिरामीमा कोरोना भाइरस लागेको आशंकामा परीक्षणका लागि नमुना हङकङ पठाइएको थियो। परीक्षणपश्चात स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर चीनको वुहानबाट फर्किएका ती विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो।

कोरोना भाइरस नेपालमा फैलिन नदिन स्वास्थ्य मन्त्रालयले सचेतना अपनाएको प्रवक्ता श्रेष्ठले बताए। मन्त्रालयले विमानस्थलमा चीनबाट आउने सबै यात्रुको स्क्रिनिङको व्यवस्था पनि गरेको छ। यस्तै स्थलमार्गहरु रसुवा र तातोपानी नाकामा स्क्रिनिङ गरिरहेको उनले बताए।

‘यदि स्क्रिनिङमा रुघा लागेको, ज्वरो आएको, छाती दुखेको भेटिएमा सीधै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अलग्गै वार्डमा लग्ने व्यवस्था गरिएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यहाँ स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा राखिएको छ। शुक्रराजले नभ्याउने अवस्था भएमा हामीले पाटनलगायतका अस्पतालमा पनि उपचारको व्यवस्था मिलाएका छौं।’

सरकारले उपत्यकामा कोरोनाबाट संक्रमित बिरामीको उपचारका लागि शुक्रराजसँगै वीर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पताल तोकेको छ। सबै अस्पताल प्रमुखलाई शनिबार बोलाएर मन्त्रालयले तयारी अवस्थामा रहन निर्देशन दिइसकेको प्रवक्ता श्रेष्ठले बताए। त्यससँगै देशभरका अस्पताललाई पनि अस्पतालहरुलाई ‘अलर्ट’ राखिएको उनले बताए।

‘संक्रमित व्यक्तिबाट कसैलाई सरेको छैन’
मन्त्रालयले चीनबाट आएका कोरोना भाइरस संक्रमित युवाबाट कसैलाई नसरेको जनाएको छ। ती व्यक्ति अस्पतालको नियमित सम्पर्कमा रहेको र उनीबाट हालसम्म कसैलाई रोग नसरेको प्रवक्ता श्रेष्ठले बताए।

‘हामीले ती व्यक्तिसँग सम्पर्कमा रहेका व्यक्तिहरुको पनि अनुसन्धान गरेका थियौं। खुसीको कुरो के भने उनको सम्पर्कमा आएका कुनैपनि मान्छेलाई रोग देखा परेको छैन,’ प्रवक्ता श्रेष्ठले भने।

अस्पतालले हङकङबाट रिपोर्ट नै नआई चार दिनमै ती मान्छेलाई डिस्चार्ज गरेको भन्दै केहीले आलोचना पनि गरेका छन्। तर, अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले त्यसबेला बिरामीलाई भाइरसको जोखिम कम देखिएकाले घर पठाइएको र अहिले उनी ठिक भएको बताए। ‘बिरामी अहिलेपनि हाम्रो निगरानीमा हुनुहुन्छ। उहाँ ठिक हुनुहुन्छ’ उनले भने।

रोगको लक्षण नदेखिकोले बिरामीले डिस्चार्ज हुन चाहेपछि डिस्चार्ज दिइएको श्रेष्ठको भनाइ छ। ‘कुनैपनि रोग नलागेको मान्छेलाई घरमा जान दिने भन्ने विश्व स्वास्थ्य संगठनको नियम नै छ,’ उनले भने, ‘बिरामी नै अस्पताल बस्न नमानेपछि विशेष निगरानीमा घर पठाइएको हो। उहाँलाई अहिले केहीपनि छैन।’

डराउनु पर्दैन : चिकित्सक
अस्पतालका डा. शेरबहादुर पुनले कोरोना भाइरसबाट डराउनै पर्ने अवस्था नभएको बताए। यसअघि २०१२ मै देखिएको कोरोना भाइरसको एक प्रजातिका रुपमा अहिलेको नोवेल कोरोना भाइरस देखिएको बताए।

‘मानिसहरुमा नयाँ रोग आएपछि के होला, कस्तो होला भन्ने जिज्ञासा देखिएको र चर्चा ज्यादा भएको हो। तर, आत्तिने डराउनुपर्ने अवस्था छैन,’ उनले भने ।

उनले यसका मुख्य लक्षणहरुमा ज्वरो आउनु र श्वासप्रश्वासमा समस्या हुनु रहेको बताए। रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई यसले छिटो असर गर्ने उनको भनाइ छ।

यसबाट बच्न हाँछ्यु गर्दा मुख छोप्ने, बाहिर गए हात धुने, जनावरको सामिप्यतामा नरहने, मासु राम्रोसँग पकाएर खाने, आँखा सुरक्षित गर्न चस्मा लगाउने, भाइरस फिल्टर गर्ने मास्क प्रयोग गनुपर्ने उनको सुझाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad